ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङ जिल्लाका दुर्गम हिमाली क्षेत्रका चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सङ्कलन गरिएको छ। यातायातको पहुँच नपुगेका कारण फक्ताङलुङ गाउँपालिका–६ स्थित घुन्सा आधारभूत विद्यालय र ग्याब्ला प्राथमिक विद्यालय, फक्ताङलुङ–७ ओलाङचुङगोला तथा याङमा आधारभूत विद्यालयका मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको हो।
मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार ती चार केन्द्र बाहेक जिल्लाका अन्य सबै मतदान केन्द्रका मतपेटिका आज बिहान करिब तीन बजेसम्ममा सङ्कलन भइसकेका थिए। दुर्गम उच्च हिमाली बस्तीका ती चार केन्द्रबाट मतपेटिका ल्याउन भने हेलिकप्टर प्रयोग गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार हेलिकप्टर हिजो साँझ नै मतपेटिका ढुवानीका लागि प्रस्थान गर्ने तयारीमा रहे पनि अचानक मौसममा आएको परिवर्तनका कारण उडान हुन सकेको थिएन। आज बिहान मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याइएको उहाँले जानकारी दिनुभयो।
जिल्लाका सबै १२७ मतदान केन्द्रका मतपेटिका सङ्कलन सम्पन्न भइसकेपछि अब सर्वदलीय बैठकपछि मतगणना प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो।







