ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याहाङले आफ्नो चुनावी दौडधूपलाई थप तीव्र बनाएका छन्। गाउँ–गाउँमा घरदैलो कार्यक्रम र पालिका–स्तरका आमसभा मार्फत मतदातासँग प्रत्यक्ष भेटघाट जारी छ।
निर्वाचन परिचालन समितिका संयोजक युकहाङ्विर हाङ्गामका अनुसार ६ पालिकामा आमसभा सम्पन्न भइसकेको छ। अब मिक्वाखोला, फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा कार्यक्रम गर्ने तयारी भइरहेको छ।
चुनावी अभियानका क्रममा कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको छ। नेताहरूले प्रत्येक सभामा पार्टी एकताबद्ध भएको सन्देश दिँदै विशेष महाधिवेशनपछि कांग्रेस नयाँ ढंगले अघि बढेको दाबी गरिरहेका छन्। यही एकताले जित सुनिश्चित गर्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।
तुम्याहाङको पक्षमा पूर्व स्वास्थ्य राज्यमन्त्री मणि लामा, कोशी प्रदेशका पूर्व उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गाम तथा पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम खुलेरै लागेका छन्। साथै जिल्ला सभापतिमा पराजित छबिलाल गुरुङ लगायतका नेताहरू पनि प्रचार अभियानमा सक्रिय देखिएका छन्।
पार्टीभित्रको एकता, नेताहरूको सक्रियता र कार्यकर्ताको उत्साहका कारण यसपटक तुम्याहाङको जितको आधार बलियो बन्दै गएको कांग्रेसको दाबी छ।







