कविता
शीर्षक : म कामरेड हुँ
म कामरेड हुँ
मलाई कामरेड भन्नुहाेस्
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ
कामरेड भित्र उच्च सम्मान छ
कामरेड भित्र उच्च समानता छ
कामरेड भित्र उच्च भावना छ
त्यसैले
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ ।
म कामरेड हुँ
मलाई राताे रङ मनपर्छ
म क्रान्तिकाे पारखी हुँ
मलाई क्रान्ति मनपर्छ
कामरेड , क्रान्ति र राताे रङ
मेराे प्रतीक हाे
मलाई कामरेड भन्नुहोस् ।।
रगत सबैकाे रातै हुन्छ
कपाल सबैकाे कालै छ
रङ्गी विरङ्गी त मन मात्रै हाे
मलाई राताे रङ मनपर्छ
जुन क्रान्तिकाे प्रतीक हाे
म क्रान्तिकारी हुँ
मलाई कामरेड भन्नुहोस् ।।।
न यहाँ हजुर छ
न यहाँ हजुरिया छ
न यहाँ दाजु छ
न यहाँ भाइ छ
यहाँ त मित्रता छ
यहाँ त भातृत्व छ
यहाँ त समानता छ
यहाँ त जीवन छ , जगत छ
वर्गीयता र उच्च वैचारिक सम्बन्ध छ
म कामरेड हुँ
मलाई कामरेड भन्नुहोस्
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ ।।।।
म गणतन्त्रप्रेमी हुँ
म समाजवादको वकालत गर्छु
म साम्यवादकाे यात्रामा छु
म कामरेड हुँ
म क्रान्तिमा छु
सर्वहाराकाे सपना बाेकेर
समृद्धिकाे लक्ष्यमा डुबुल्की मार्दै
समानताकाे गन्तव्य चुम्न
निरन्तर अगाडि बढीरहेकाे
म क्रान्तिको यात्री हुँ
मलाई कामरेड भन्नुहोस् ।।।।।
वर्गीयताकाे खाडल पुर्न
समानताकाे पुल थाप्न
कुटाे र काेदालाे हातमा लिएर
पसिना बगाउन म तयार छु
श्रम गर्न, मजदुरी गर्न, म मञ्जुर छु
म श्रमिक हुँ
म मजदुर हुँ
याे देशमा सुन फलाउने
म किसान हुँ
म कामरेड हुँ
मलाई पसिना बगाउन मनपर्छ ।।।।।।
मलाई महलकाे पिजा हाेइन
झुपडीकाे ढिडाेँ मिठाे लाग्छ
मलाई हाेटलकाे वर्गर हाेइन
छाप्रिकाे गुन्द्रुक मिठाे लाग्छ
मलाई शहरकाे पफकन हाेइन
गाउँकाे ठेट्ना मिठाे लाग्छ
मलाई अत्तरकाे बास्ना हाेइन
पसिनाकाे गन्ध मिठाे लाग्छ
म कामरेड हुँ
मलाई राताे रङ्ग मनपर्छ
मलाई कामरेड भन्नुहोस्
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ ।।।।।
म मार्क्सवादी हुँ
मलाई लेनिनवाद प्याराे लाग्छ
मलाई माओवाद मनपर्छ
म मालेमाकाे अनुयायी हुँ
म मार्क्स, लेनिन र माओको प्रचारक हुँ
एङ्गेल्स,स्टालिन, माओ र देङकाे शुभचिन्तक हुँ
म विश्व विख्यात क्रान्ति नायक
चे ग्वेभाराकाे चेला हुँ
हाेचि मिन्हाे र गाेञ्जालाेकाे समर्थक हुँ
जाे चेतनाकाे दिप बनेर
सबैकाे चेतनामा बलिरहेका छन्
मुठ्ठी कसेर सलाम छ
शिर झुकाएर अभिवादन छ
ती महान पुरुषहरुलाई
म कामरेड हुँ
मलाई कामरेड भन्नुहोस्
मलाई राताे रङ्ग मनपर्छ
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ ।।।।।।।।
-प्रजिन हाङ्गाम







