ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेतीको विस्तार तथा व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले कृषकलाई निःशुल्क कफीका बिरुवा वितरण गर्ने भएको छ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कार्यक्रमबाट लाभ लिन इच्छुक कृषकलाई कृषि विकास शाखामा आवश्यक निवेदन पेश गर्न आग्रह गरेको छ।
गाउँपालिकाका अनुसार हुमन प्राक्टिस फाउण्डेशन (एचपीएफ) र कृषि अभ्यास नेपालको आयोजनामा तथा गाउँपालिकाको सहकार्यमा कफी खेतीको सम्भाव्यता अध्ययन प्रतिवेदन–२०७९ का आधारमा उपयुक्त क्षेत्रका कृषकलाई बिरुवा उपलब्ध गराइनेछ। कार्यक्रम वडा नं. १ देखि ६ सम्मका तोकिएका क्षेत्रका कृषकलाई लक्षित गरिएको छ।
सूचनाअनुसार कफीका बिरुवा साउन १४ गते बिहान ११ बजे गाउँपालिकाको कार्यालयबाट वितरण गरिनेछ। वडा नं. १ का तोवे र हातिछावा, वडा नं. २ का माडिम र भट्याङ, वडा नं. ४ का भिरालो क्षेत्र, वडा नं. ५ का तुम्लोक तथा छोटेखर–फुङफुङ र वडा नं. ६ का साम्मुङ र साङ्डुपु क्षेत्रका कृषकले कार्यक्रमअन्तर्गत बिरुवा प्राप्त गर्न सक्नेछन्।
गाउँपालिकाले कफी खेतीको क्षेत्र विस्तार गर्दै कृषकको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा व्यावसायिक कृषि विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।







