ताप्लेजुङ । उच्च शिक्षा र प्राविधिक अध्ययन गर्न चाहने फक्ताङ्लुङ गाउँपालिकाका विद्यार्थीका लागि उत्साहजनक खबर आएको छ। गाउँपालिकाले पालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति कार्यक्रम ल्याएको हो।
आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित पालिकाले यो पहल गरेको जनाएको छ। पालिकाका अध्यक्ष राजन लिम्बू मुक्तिका अनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति तथा एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ।
जिल्लाभित्र रहेका सामुदायिक तथा सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बिहीबार पाथिभरा क्याम्पसका विद्यार्थीहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष लिम्बूले शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा राष्ट्र विकासमा योगदान पुग्ने बताउनुभयो।
गाउँपालिकाले आगामी वर्षहरूमा पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसअघि नै पालिकाले सूचना जारी गर्दै इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गरिसकेको छ।







