ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको भीषण आगलागीबाट करिब १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
आगलागीबाट घर, होटल, किराना तथा विभिन्न पसल, अलैँची गोदामलगायतका संरचना तथा व्यवसायमा ठूलो क्षति पुगेको विवरणमा उल्लेख छ।
प्राप्त विवरणअनुसार याम लिम्बुको घर तथा होटलमा करिब ८० लाख रुपैयाँ, घनश्याम खरेलको घर, पसल तथा अलैँची गोदाममा करिब २ करोड रुपैयाँ र राजु शेर्पा भन्ने आङमिङमा शेर्पाको घरमा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उक्त घरमा भाडामा बस्ने अनुष्का आङबुहाङको करिब ९ लाख र मोहन आङबुहाङको मासु पसलमा २ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
त्यस्तै, सुकविर लिम्बुको घरमा करिब ३१ लाख ५० हजार रुपैयाँको क्षति भएको छ। सोही घरमा भाडामा सञ्चालनमा रहेका पवन लिम्बुको मासु पसलमा १ लाख ५० हजार, हरिप्रसाद तामाङको मासु पसलमा १ लाख र कमला बर्देबाको कपडा पसलमा ३ लाख रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।
डण्डु शेर्पाको एक अर्धपक्की घर पूर्ण रूपमा र अर्को दुईतले पक्की घर आंशिक रूपमा क्षतिग्रस्त हुँदा करिब २ करोड रुपैयाँको क्षति भएको बताइएको छ।
भिम लिम्बुका दुईवटा अर्धपक्की घरमा करिब ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ। ती घरमा भाडामा सञ्चालित विभिन्न व्यवसायमा समेत ठूलो क्षति पुगेको छ। श्याम लिम्बु र सुमन लिम्बुको होटलमा २५–२५ लाख, लाक्पा शेर्पाको होटलमा ३० लाख, सुकराज गहतराजको सुनचाँदी पसलमा ५० लाख, योगेन शेर्पाको पसलमा १० लाख, फुर्वा शेर्पाको पसलमा १ लाख ५० हजार, सविन चुडालको किराना पसलमा २० लाख, लक्ष्मी लिम्बुको सामानमा १० लाख र घनश्याम खरेलको सामानमा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
यसैगरी, राजेन्द्र पौडेलको पक्की घर तथा किराना पसलमा करिब १ करोड ३० लाख रुपैयाँ र चन्द्र पौडेलको पक्की घर तथा किराना पसलमा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट कुल १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। आगलागीबाट दोभान बजारका व्यवसायी तथा स्थानीयको ठूलो आर्थिक क्षति भएको छ।
क्षतिको विवरण अझै संकलन तथा यकिन गर्ने कार्य भइरहेको जनाइएको छ।







