ताप्लेजुङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको पूर्वी नेपालको महत्वपूर्ण नाका ओलाङचुङ गोलास्थित ओलाङचुङ गोला भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ। भन्सार प्रमुख प्रदीप ढकाल तथा सीमा प्रशासनका कर्मचारीहरूको उपस्थितिमा कार्यालय पुनः सञ्चालन गरिएको हो।
पूर्वको सबैभन्दा छोटो व्यापारिक नाकाका रूपमा परिचित ओलाङचुङ गोला नाकाले नेपाल–चीन व्यापार तथा स्थानीय आवतजावतमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तर करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालय भवन हाल जीर्ण अवस्थामा पुगेको छ। साथै तमोर करिडोर सडक गाउँभन्दा तलतिर निर्माण भएकाले हालको भन्सार संरचना सञ्चालनका लागि उपयुक्त नरहेको स्थानीयको भनाइ छ।
स्थानीय सरोकारवालाहरूले अब नयाँ भन्सार कार्यालय भवन सडक छेउमा निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा नयाँ भवन निर्माण, कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन तथा पूर्वाधार विस्तारका लागि अर्थ मन्त्रालय र भन्सार विभागसँग माग गरेका छन्।
यससँगै सम्बन्धित निकायहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गरिदिन समेत अनुरोध गरिएको छ। ओलाङचुङ गोला नाका नियमित सञ्चालनमा आएपछि स्थानीय व्यापार, पर्यटन तथा सीमा क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।







