ताप्लेजुङ । खेलकुदको विकाससँगै स्थानीय पर्यटन प्रवर्द्धन र लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा अन्तरवडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
नाल्बु समाजको आयोजनामा माघ २५ गतेदेखि सुरु हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै नाल्बु तथा मेरिङदेन क्षेत्रको पहिचानलाई उजागर गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
पुरुष फुटबलतर्फ विजेता टिमले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ, तीन वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित समान सम्मान पाउनेछ। महिला फुटबलतर्फ विजेतालाई ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेतालाई ३१ हजार १ सय ११ रुपैयाँ नगदसहित तीन वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
पुरुष तथा महिला दुवै प्रतियोगिताका विजेताको पुरस्कार स्वर्गीय सुकबहादुर नाल्बो र मनमाया नाल्बोको स्मृतिमा उहाँहरूका परिवारले प्रदान गर्नेछन्। उपविजेताको पुरस्कार भने स्वर्गीय लालबहादुर नाल्बो, श्रीमती स्वर्गीय तुलामाया नाल्बो तथा छोराहरू स्वर्गीय दिलबहादुर र मनबहादुर नाल्बोको सम्झनामा परिवारजनबाट प्रदान गरिने आयोजक नाल्बु समाजका अध्यक्ष देउबहादुर लिम्बुले जानकारी दिनुभयो।
प्रतियोगितामा म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
फुटबल प्रतियोगितासँगै लिम्बू समुदायको मौलिक च्याब्रुङ नृत्य प्रतियोगिता पनि सञ्चालन गरिनेछ। च्याब्रुङ नृत्यतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेलकुदको माध्यमबाट नाल्बु तथा मेरिङदेन क्षेत्रको पर्यटकीय सम्भावनाको प्रचारप्रसार गर्नुका साथै स्थानीय संस्कार र संस्कृतिको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!