ताप्लेजुङ । खेलकुदमार्फत शहीदको सम्मान र गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम शहीद कप २०८२ आयोजना हुने भएको छ। योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिका कमिटीको आयोजनामा अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो।
ताप्लेजुङका पहिलो शहीद नरेन्द्र थलङ (सिङ्सान) सहित १० वर्षे जनयुद्धका क्रममा मिक्वाखोला गाउँपालिकाबाट शहीद भएका १८ जना नागरिकको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। स्थानीय इतिहास र शहीदको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने माध्यमका रूपमा खेलकुदलाई प्रयोग गरिएको बताइएको छ।
ग्रामीण भेगमा हुने यस प्रतियोगिताले खेलकुद गतिविधि मात्र होइन, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय सम्भावनालाई पनि चिनाउने अपेक्षा गरिएको छ। प्रतियोगिता सञ्चालन हुने साँवाको थलङ क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको र खेलकुद पर्यटक आकर्षित हुने आयोजकको विश्वास छ।
मिक्वाखोला गाउँपालिकास्थित थलङ खेल मैदानमा माघ १६ गते शहीद दिवसका दिन उद्घाटन हुने प्रतियोगिता माघ २१ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा अन्तरपालिका स्तरीय टिमहरूको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले १ लाख १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेल संयोजक रनध्वज थलङका अनुसार सहभागी टिमहरूले माघ १५ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा प्रतिस्पर्धालाई थप रोचक बनाउन प्रत्येक टिमलाई पालिकाबाहिरका अधिकतम ३ जना खेलाडी समावेश गर्न अनुमति दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!