ताप्लेजुङ। सदरमुकाम बाहिर आयोजना हुने फुटबल प्रतियोगितामध्ये आकर्षक पुरस्कार राशिसहित सुरु गरिएको प्रथम मागेमेला गोल्ड कप सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि आयोजक टोली सिंवा स्पोर्टिङ क्लबले जित्दै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको छ।
माघे सङ्क्रान्तिको अवसर पारेर माघेमेला सञ्चालन समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। आयोजक सिंवाले लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिमलाई ३–२ गोलले पराजित गर्दै दर्शकलाई रोमाञ्चक खेलको अनुभव दिलाएको थियो।
उपाधिसँगै सिंवा स्पोर्टिङ क्लबले नगद ३ लाख ५० हजार ८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता लालीगुँरासले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
व्यक्तिगत विधागततर्फ सिंवा स्पोर्टिङका आकाश लिम्बू उत्कृष्ट गोलरक्षक तथा योगेश लिम्बू उत्कृष्ट डिफेन्डर घोषित भए। यस्तै ड्रिम ब्वाइज एफ.सी. धनकुटाका शुक्र लिम्बू सर्वाधिक गोलकर्ता बने भने लालीगुँरासका हितेन लिम्बू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
समापन कार्यक्रममा कोशी प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गाम, आयोजक समितिका अध्यक्ष तेजविर लिम्बू र संरक्षक मचिन्द्र लिम्बूलगायतले विजेता तथा खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।
संरक्षक मचिन्द्र लिम्बूका अनुसार ऐतिहासिक मागेमेलालाई खेलकुदसँग जोड्दै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र सिंवा बजारलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। उहाँले राणा कालदेखि सुरु भएको मेलालाई यस वर्षदेखि नयाँ स्वरूपमा अघि बढाइएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!