
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको आईपीओको आज शुक्रबार (माघ १६ गते) बाँडफाँड भएको छ । उक्त सेयरको बाँडफाँड आज बिहान १० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा भएको हो ।
यससँगै कम्पनीको आईपीओमा आवेदन दिने सबैले बैंकको सेयर हात परेका छन् । बिक्री प्रबन्धक क्यापिटलका अनुसार पहिलो चरणमा रितपूर्वक आवेदन दिने सबैले बैंकको न्युनतम १० कित्तादेखि अधिकतम ५० कित्ता सेयर पाएका छन् । १० कित्ताभन्दा बढी र ५० कित्तासम्म रितपूर्वक आवेदन दिएका सबैले आफुले माग गरेजति नै सेयर हात पारेका छन् ।
आईपीओमा आवेदन दिएका मध्ये कूल १४ लाख ७५ हजार ८ जनाको आवेदन रितपूर्वक रहेका छन् भने ६ हजार २७६ जनाको आवेदन रद्द भएकाे क्यापिटलले जनाएकाे छ ।
त्यस्तै, पहिलो चरणमा बाँडफाँड गरेर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर दाेश्राे चरण अर्थात गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । ६० कित्ता वा सो भन्दा बढी माग गर्ने कूल ११ लाख ९४ हजार ४ जना आवेदकलाई गोलाप्रथामा समावेश गरिएको थियो । जसमध्ये भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले मात्रै बैंकको थप १० कित्ता गरी अधिकतम ६० कित्ता सेयर हात पारेका छन् भने बाँकीले बैंककाे अधिकतम ५० कित्ता सेयर पाएका छन् ।
बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।
१२ अर्ब रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी आईपीओ बाँडफाँड पछि २० अर्ब रुपैयाँ पुगेको छ । Bikash News