ताप्लेजुङ। ताप्लेजुङमा पहिलोपटक जिल्ला स्तरीय फुट्सल प्रतियोगिता सुरु भएको छ। जिल्लाको एकमात्र कुलकर्ण फुट्सल, फुङ्लिङ–४ मादेनडाँडामा सुरु भएको प्रतियोगिता कुलकर्ण फुट्सलको आयोजना तथा ताप्लेजुङ जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको हो।

प्रतियोगितामा ताप्लेजुङ र पाँचथरसहित २८ टोलीको सहभागिता रहेको आयोजक तथा कुलकर्ण फुट्सलका सञ्चालक नयन मादेनले जानकारी दिनुभयो। सहभागी टोलीमध्ये दुई टोली पाँचथर जिल्लाबाट आएका छन्।

प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजार र उपविजेता टोलीले रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। उपविजेता पुरस्कार तोक्मे काउन्टर समूह, ताप्लेजुङले प्रायोजन गरेको आयोजकले जनाएको छ।

त्यसैगरी, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित गरी नगद रु. ५ हजार प्रदान गरिनेछ। उक्त पुरस्कार डिएनजी कन्स्ट्रक्सन, ताप्लेजुङले प्रायोजन गरेको आयोजकले जनाएको छ।

ताप्लेजुङ जिल्ला फुटबल सङ्घका अध्यक्ष अशोक चेम्जोङका अनुसार प्रतियोगिताको समापन आइतबार हुनेछ। वर्षायामका कारण खुला मैदानमा फुटबल गतिविधि न्यून हुने भएकाले युवाहरूलाई खेलकुदसँग जोड्ने, फुट्सल खेलको विकास तथा खेल संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो।

जिल्लामै पहिलोपटक आयोजना गरिएको यस प्रतियोगिताले ताप्लेजुङमा फुट्सल खेलको विकास, खेलाडी उत्पादन तथा अन्तरजिल्ला खेल सम्बन्ध विस्तारमा सकारात्मक योगदान पुग्ने जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष अन्जना कडरियाले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!