सिन्धुली, वैशाख १८ गते । सिन्धुलीमा प्रहरीले विवाह रोकेको छ ।
उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियाबारीकी दुलही र मकवानपुर जिल्लाको बकैया गाउँपालिका–७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह प्रहरीले रोकेको हो । दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ । प्रहरी उपरीक्षक थपलियाका अनुसार दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको थियो ।
किशोरीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी आएपछि विवाहस्थलमा पुगेर बुझ्दा बालविवाह हुन लागेको पाइएपछि रोक्नुपरेको थपलियाले बताए । ‘बाल विवाह हुँदैछ भन्ने जानकारी आएपछि प्रहरी पठायौँ । सोधपुछ गर्दा केटीको उमेर नपुगेको देखिएपछि विवाह रोकिएको हो,’ उनले भने । प्रहरीले दुलहीको घरबाट दुलहा,दुलहीसहित दुवै पक्षका अभिभावकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइएको उनले बताए । कार्यालयमा ल्याएर बाल विवाहको मुद्दा दर्ता गर्न लाग्दा दुलाहा, दुलही पक्षले आफूहरुलाई बाल विवाह गर्न पाइन्न र दुलहीको उमेर पुगेपछि मात्रै विवाह गर्छौं भनेर दुवै पक्षले कागज परेपछि उनीहरूलाई छोडिएको थपलियाले जानकारी दिए ।
दुलाह विवाह रोकेर घर फर्केका छन् । दुलहीलाई अभिभावकले घर लगेका छन्’, उनले भने । दुलाहा आउने बित्तिकै सूचना आएकाले तत्काल प्रहरी गएपछि विवाहको कार्य पूरा नहुँदै रोकिएको थियो । Sajilokhabar







