माधवको जवाफ : म मूलपानी भेटघाटमा छु, अब निस्किन्छु।प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदन नगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन्। सरकारी निवास बालुवाटारबाट निस्किएर उनले बल्खुमा नयाँ आधुनिक भवन शिलान्यास गरेका हुन्।
भवन शिलान्यासमा जानुअघि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेका थिए। उनले नेता नेपाललाई फोन गर्दै आफू बालुवाटारबाट हिँडेको जानकारी गराएका थिए।
‘ म बालुवाटारबाट निस्किएँ, तपाईं कहाँ पुग्नुभयो?’, ओलीको भनाइ उद्धृत गर्दै नेपालसम्वद्ध स्रोतले भन्यो, ‘पार्टी कार्यालय शिलान्यास सँगै गर्नुपर्छ, म आउँदैछु, तपाईं पनि आइजानुस्।’ तर नेता नेपालले आफू अहिले आफ्नै निर्वाचन क्षेत्रस्थित मूलपानीमा रहेको बताएका थिए। उनले ओलीलाई जवाफमा भने, ‘म मूलपानीमा सानो भेटघाटमा छु, तपाईं जाँदै गर्नुस्, अब म निस्किन्छु।’
ओलीले बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्दै गर्दा नेता नेपाल भने काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत मूलपानीको एक भेटघाटमा व्यस्त थिए। उनी प्रदेश सांसद एवम् ओली पक्षका नेता मणिराम फुयालसहित त्यहाँ पुगेका थिए।







