✍️ तरुण भारती
ताप्लेजुङ । गुरुङ समुदायका अगुवा, दाजुभाइ र दिदीबहिनीहरू एकै ठाउँमा भेला हुँदा वातावरण नै फरक देखियो त्यो पनि हातमा सेतो गुलियो चियासङ।
चिया कोठाभित्र गफगाफको रौनक थियो, तर सबैको ध्यान तान्ने कुरा एउटै—भेडाको उनबाट बनेको परम्परागत गुरुङ शिरटोपी। शिरमा टोपी, अनुहारमा मुस्कान र मनमा संस्कृतिप्रतिको गर्व स्पष्ट देखिन्थ्यो।
भेडाकै सिङको आकृतिले सजिएको टोपी देखाउँदै देवराज गुरुङ मुसुक्क हाँस्दै भन्नुभयो, “यो टोपी त हाम्रो नागरिकता जस्तै हो।” हासोको गर्जन भयो अनि थपक्कै इन्द्रकुमार गुरुङले थप्नुभयो, “टोपी खोलेँ भने गुरुङ भएको प्रमाण नै हराउँछ।” यस्तै ठट्टा, हाँसो र आत्मीय कुराकानीले भेटघाट अझ रमाइलो बन्यो।
लु त एउटा फोटो भन्दै बिनोद गुरुङ टोपी मिलाउन थाल्नु भयो । एकाएक कोठामा हुनु भएको सबैजनाले टोपी टिप्दै शिरमा सजाउन थाल्नु भयो अनि क्यामेराको लेन्स अगाडि सबैजना फोटो खिच्न रेडि।
ग्रुपको बिचमा फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनलाई राखियो अनि फोटो खिच्न सुरु।
हेर्नुहोस त फोटो:
कार्यक्रम कुनै औपचारिक मञ्चको होइन, तर संस्कृतिको अनौपचारिक महोत्सव जस्तै बन्यो। चियाको चुस्किसङ्गै पुराना दिनका कथा निस्किए—पहिला गाउँमा कसरी भेडाको उन काटिन्थ्यो, आमाबुबाले कसरी टोपी बुन्न सिकाउनुहुन्थ्यो, र चाडपर्वमा टोपी लगाउँदा कस्तो गर्व लाग्थ्यो भन्ने सम्झनाले माहोल झनै भावुक बनायो।
युवापुस्ताले पनि टोपी शिरमा सजाउँदै फोटो खिचे, सामाजिक सञ्जालमा हाल्ने तयारी गरे। “अब संस्कृति पनि ट्रेन्डमा ल्याउनुपर्छ,” भन्दै उनीहरू हाँसे। गङ्गाराम गुरुङले भन्नुभयो , “हामीलाई यही देख्न मन थियो,” भन्दै सन्तोष व्यक्त गर्नुभयो।
भेटघाटको अन्त्यमा सबैको एउटै निष्कर्ष रह्यो—यो टोपी फेशनका लागि होइन, पहिचानका लागि हो।
भेडाको उनबाट बनेको यो सानो तर अर्थपूर्ण शिरटोपी गुरुङ समुदायको इतिहास, श्रम, संस्कार र आत्मसम्मानको प्रतीक हो।
अन्ततः त्यो कोठामा टोपी मात्र थिएन, पुस्तौंदेखि बाँच्दै आएको गुरुङ संस्कृति पनि सँगै बसेको थियो।







