
ताप्लेजुङ – जिल्ला प्रशासन कार्यालयले हरेक शुक्रबार बिहान सरकारी कार्यालय र सङ्घसंस्थाको कार्यालय तथा आसपासका क्षेत्रमा अनिवार्य सरसफाइ अभियान चलाउन निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधवार दिउसो भएको डेङ्गु सङ्क्रमण रोकथाम सम्बन्धी अन्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साउन र भदौ दुई महिना डे्गुको जोखिम अति हुने भएकाले यो अभियान चलाउनै पर्ने भएको बताएका हुन् । प्रमुख जिल्ला अधिकारीले कार्यालय प्रमुखलाई सरसफाइको भिडियो पठाउन पनि निर्देशन दिए ।
यसको प्रारम्भ बिहीबार भोलि बिहान ७ वजेदेखि सदरमुकाम फुङलिङको प्रवेशद्वार हेलिप्याडको सशस्त्र प्रहरीको जाँच बिन्दुबाट सुरु गरिनेपनि शर्माले बताए । डेङगुको संक्रमणवाट साउन महिनामा मात्रै ताप्लेजुङमा पाँच जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
डेङ्गु सङ्क्रमणको जोखिमबाट ताप्लेजुङपनि मुक्त नभएकाले जनप्रतिनिधि, राजनीतिक दल, सर्वसाधारण नागरिक सबैको सक्रियतामा यसको रोकथाममा लाग्नुपर्ने अन्तक्रियामा सहभागीले प्रण गरेका छन् ।