
११ बैसाख ताप्लेजुङ । नेपाल दशनामी समाज जिल्ला कार्य समिति ताप्लेजुङले आद्य गुरु शङ्कराचार्यको हजार दुई सय ३५ औँ जन्मजयन्ती आज मनाएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत बिरामीलाई फलफुल वितरण गरी जन्मोत्सव मनाएको दशनामी समाज ताप्लेजुङका अध्यक्ष देउनारायण पुरीले जानकारी दिए ।
कार्यक्रममा शङ्कराचार्यले हिन्दू धर्म रक्षाका लागि दशनामीको निर्माण गरेको बताइएको थियो । कार्यक्रममा समाजका पुर्वअध्यक्ष युवराज गिरीले नेपालमा बसोबास गर्ने दशनामीलाई अल्पसङ्ख्यकमा राख्नुपर्ने पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि फुङ्लिङ नगरपालिकाका प्रम्ुख अमिर मादेनले शङ्कराचार्यको अभियानलाई निरन्तरता दिनुपर्ने बताए । मनाङबाहेक नेपालका ७४ जिल्लामा बसोबास रहेका दशनामीको जनसङ्ख्या देशभर दुई लाख ५० हजारभन्दा बढी छ ।