कोरोना भाइरस-२ को परीक्षणमा जटिलता : विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ कोरोना भाइरस (कोभिड-१९) को तीव्र संक्रमणबाट नेपाल पनि गुज्रिरहेको छ । यसले नेपालको जनस्वास्थ्य, आर्थिक, मानसिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पारेको छ भने हालसम्म १३ जनाको ज्यान लिइसकेको, ३२ सयभन्दा बढीलाई संक्रमित गरेको तथा करिब १ लाख ६७ हजार जनालाई क्वारेन्टाइनमा कस्टकर अवस्थामा बस्न बाध्य पारेको अवस्था छ।
अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार कोरोना भाइरसका सात प्रजाति (२२-ई, एनएल-६३, ओसी-४३, एचकेयु-१, सार्स-कोरोना भाइरस, मर्स-कोरोना भाइरस, सार्स-कोरोना भाइरस-२)ले ६० वर्षयतादेखि अहिलेसम्म मानवमा संक्रमण गरेको प्रमाण फेला परेको छ । कोरोना भाइरस रोग-२०१९ को कारक जीवाणु ‘सार्स-कोरोना भाइरस-२’ एक नयाँ प्रकारको जीवित जीवाणु हो र ‘बिटा कोरोना भाइरस’ समूहमा पर्ने एउटा आरएनएको त्यान्द्राले यसको आनुवंशिक बनेको हुन्छ ।
आनुवंशिक अध्ययन, अनुसन्धान र विश्लेषणले यो भाइरस प्रकृतिबाट पोखिएर आएको देखाउँछ र ‘ल्याब वा प्रयोगशाला’मा बनाइएको भन्ने कुरा अस्वीकार गर्छ । धेरै वैज्ञानिकहरू ‘भाइरसको इन्जिनियर’ गरिएको वा जानाजानी बनाइएको कुनै प्रमाण नभएको तथ्यसँग सहमत छन् । सार्स-कोरोना भाइरस-२ कुनै पनि पहिले प्रयोग भएको भाइरस ‘ब्याकबोन’बाट उत्पन्न गरिएको छैन भन्ने तथ्यलाई यसको आनुवंशिक तथ्यांकले पनि समर्थन गरेको छ । अहिलेको ‘सार्स कोरोना भाइरस-२’को आनुवंशिक २००२-०३ मा फैलिएको सार्स-कोरोना भाइरसको आनुवंशिक सँग ७९.६ प्रतिशत र चीनको वुहानमा पाइने एक प्रकारको हर्ससु चमेरोको कोरोना भाइरससँग ९६.३ प्रतिशत आनुवंशिक मिल्दोजुल्दो पाइएको छ ।
कोरोना भाइरस-२ आरएनए भाइरस भएको हुँदा यसमा उच्च आनुवंशिक उत्परिवर्तन-म्युटेसन) देखिएको छ । उच्च उत्परिवर्तन दरकै कारण यस भाइरसले जिनोम परिवर्तन गरेर सक्षम आनुवंशिक संरचनाको विकास गर्छ, चरम संकटमा पनि बाँच्छ र संक्रमित व्यक्तिको प्रतिरक्षाबाट बच्न औषधि तथा खोप प्रतिरोधात्मक क्षमता पनि विकास गर्न सक्छ । अध्ययन तथा अनुसन्धानले कोरोना भाइरस-२ मा आनुवंशिक उत्परिवर्तन तथा उत्परिवर्तित प्रजातिको (एल.-एस.) विकसित भएको तथ्यहरू पेस गरेका छन् । यद्यपि आनुवंशिक उत्परिवर्तित प्रजाति पहिलेको भन्दा कमजोर वा शक्तिशाली के हो भन्ने निक्र्योल भने गरेका छैनन्।
कोरोना भाइरस-२ आरएनए भाइरस भएको हुँदा यसमा उच्च आनुवंशिक उत्परिवर्तन देखिएको छ । उच्च उत्परिवर्तन दरकै कारण यस भाइरसले जिनोम परिवर्तन गरी सक्षम आनुवंशिक संरचनाको विकास गर्छ, चरम संकटमा पनि बाँच्छ र संक्रमित व्यक्तिको प्रतिरक्षाबाट बच्न प्रतिरोधात्मक क्षमताको पनि विकास गर्न सक्छ।
भाइरसको आनुवंशिक उत्परिवर्तन प्रवृत्तिको अध्ययन, अनुसन्धान तथा विश्लेषणले चिकित्सासम्बन्धी उपचार, औषधि तथा खोप योजना÷निर्माण र यसको निदान आदिमा सहयोग पुर्याउँछ । भाइरसको आनुवंशिक परीक्षण गर्ने विधिलाई ‘स्वाब टेस्ट’ वा ‘रिअल टाइम रिभर्स ट्रान्स्क्रिप्टेज’ (पिसिआर)लाई ‘गोल्ड स्ट्यान्डर्ड’ मानिन्छ ।
यसले शरीरको श्वास-प्रश्वास नली-रगत-मलद्वार-सालनालबाट लिएको नमुनामा प्रत्यक्ष भाइरस वा जीवित तथा मृत भाइरसका आनुवंशिक कण र तत्वहरू भए-नभएको निक्र्योल गर्छ । जुन आरडिटीभन्दा धेरै महँगो र परीक्षण गर्न विशेष उपकरणसहितको उच्च प्रयोगशाला चाहिन्छ । प्रशोधनमा न्यूनतम ६ देखि १० घन्टा लाग्ने गर्छ, र विज्ञको आवश्यकता पर्छ ।
त्यस्तै द्रुत निदान परीक्षण (आरडिटी) ले सामान्य भाषामा भन्नुपर्दा शरीरमा सार्स-कोरोना भाइरस-२ को संक्रमण भएपछि ती भाइरसविरुद्ध हाम्रो प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन भए-नभएको निक्र्योल गर्छ । भाइरस संक्रमणको सुरुवाती लक्षणको अवस्था अथवा विशिष्ट लक्षणहरूविनाको पहिलो हप्ता वा १० दिनसम्मको अवधिलाई ‘एसिम्प्टोमेटिक’ भनिन्छ । यो अवस्थामा आरडिटीको संक्रमण पहिचान गर्ने क्षमता न्यून हुन्छ । करिब ८० प्रतिशत कोभिड-१९ संक्रमित व्यक्तिहरूमा लक्षणहरू नदेखिने वा केवल सामान्य रुघाखोकी मात्र देखापर्ने गर्छ । समुदायमा भाइरस के–कति फैलिसक्यो भनेर स्क्रिनिङ गर्न तथा प्रसारणको चरण र प्रवृत्ति थाहा पाउन र शीघ्र नियन्त्रणका लागि उचित रणनीति तय गर्न मात्र आरडिटीको उपयोग प्रभावकारी हुन सक्छ।
स्वाब परीक्षणले पनि शतप्रतिशत नै भाइरस संक्रमणको निक्र्योल गर्न सक्दैन । पहिलो कुरा त नमुनामा भाइरसको लोड÷परिमाण पहिचानको सीमाभन्दा ठूलो परिमाणमा (करिब हजार ‘भाइरल कपी नम्बर्स’) हुनुपर्छ । कुन माध्यम (¥याल, थुक, रगत, दिसापिसाब) बाट नमुना निकालियो, कहाँबाट र कसरी (घाँटी वा नाक) लिइयोे, संक्रमणको कुन अवधि वा अवस्थामा लिइयो जस्ता कुराले पनि परीक्षणको प्रभावकारितामा फरक पार्छ ।
त्यसैगरी, नमुना ह्यान्डलिङ, कोल्ड चेन भण्डारण, प्रयोगशालामा ढुवानी गर्न लाग्ने समय, किटको स्तर र परीक्षण पद्धति (पुलिङ, एकल चरण डाउनस्ट्रिम प्रक्रिया)जस्ता विषयले पनि प्रभाव पार्छ । अझ प्रयोगशालाको प्रकार र स्वास्थ्य प्राविधिकको दक्षता एवं सार्स-कोरोना भाइरस-२ को आनुवंशिक विविधताले गर्दा पनि शतप्रतिशत नै संक्रमण निक्र्योल गर्न सकिन्छ भन्ने हुँदैन ।
अप्रत्याशित त्रुटि समावेश गर्दा स्वाब परीक्षणले करिब ३०-६० प्रतिशत पहिचान गर्न सक्ने क्षमता राख्छ । सार्स-कोरोना भाइरस-२ को म्युटेसनको कारण पनि गलत नतिजा देखाउन सक्छ । धेरै लक्षित (टारगेट) जिनहरूको परीक्षणले गलत परिणाम कम गर्न तथा परीक्षणको प्रभावकारिता वृद्घि गर्न सघाउँछ । पचेट्टी तथा उनको अनुसन्धान समूहले प्रकाशित गरेको एउटा जर्नल लेखले जाँच लक्षित (टारगेट) जिनहरूमा उत्परिवर्तन-म्युटेसन) हुने हुँदा स्वाब परीक्षणले गलत नतिजा दिन सक्ने जोखिम औँल्याएको छ ।
संक्रमण स्रोत नियन्त्रण गर्न र संक्रमणलाई रोक्न भाइरसको छिटो र सटिक परीक्षण तथा निदान हुनुपर्छ । यो महामारीको रोकथाम र नियन्त्रणका लागि भाइरसको प्रारम्भिक निदान महत्वपूर्ण मानिन्छ, किनकि क्लिनिकल पद्धतिले मात्र कोभिड-१९ को निदान गर्न सक्दैन । विशेषतः बिरामीहरूको सुरुवातको लक्षण अथवा विशिष्ट लक्षणहरूविनाको (एसिम्प्टोमेटिक) अवस्थामा त क्लिनिकल पद्धति प्रयोगमै आउँदैन ।
भर्टिकल ट्रान्समिसन : आमाबाट नवजात शिशुमा रोग अथवा रोगजनक कारक तत्वहरू गर्भ अवस्थामा, जन्मलगत्तै वा पछिको अवधिमा प्रसारण हुनुलाई भर्टिकल ट्रान्समिसन (ठाडो प्रसारण) भनिन्छ । गर्भावस्थामा सालनालका माध्यमबाट, स्तनपानद्वारा, प्रसव अवधिमा वा जन्मपछि प्रत्यक्ष सम्पर्कमार्फत पनि भर्टिकल ट्रान्समिसन हुन सक्छ । एचआइभी एक भर्टिकल ट्रान्समिसनमार्फत सर्ने रोगजनक कारक तत्वको उदाहरण हो, जसलाई ‘पेरिनेटल’ प्रसारणको रूपमा पनि चिनिन्छ ।
एचआइभीको प्राकृतिक हकमा भर्टिकल ट्रान्समिसन दर १३-४८ प्रतिशतबीचमा पर्छ । तर, उपयुक्त रोकथाम उपाय र निवारण पद्धतिका कारण यो दरलाई न्यूनीकरण गर्न सकिएका वैज्ञानिक तथ्य छन् । भर्टिकल ट्रान्समिसनका लागि गर्भावस्था, प्रसव अवधि र स्तनपान अति संवेदनशील अवधि हो । यद्यपि ‘मातृ भाइरल लोड’ भर्टिकल ट्रान्समिसनका लागि मुख्य जोखिम कारक तत्व मानिन्छ ।
विश्वमा कोरोना भाइरस-२ संक्रमित आमाबाट भर्खरै जन्मेका धेरै शिशुमा भर्टिकल ट्रान्समिसनमा संक्रमण नभएका रिपोर्ट आएका छन् भने केही शिशुमा संक्रमण भएको तथ्यलाई पनि नकार्न सकिँदैन । कोरोना भाइरस-२ भर्टिकल ट्रान्समिसनबाट संक्रमण हुने–नहुने कुराले अहिलेको माहामारीको परिस्थितिमा विशेष महत्व राख्छ । कोरोना भाइरस-२ ठाडो रूपमा गर्भवती आमाबाट भ्रूणमा स-यो भने जन्मजात नै संक्रमण हुन सक्ने सम्भावना अहिलेको प्रमुख चिन्ताको विषय हो ।
कोरोना भाइरस गर्भवती आमाबाट भ्रूणमा सर्यो भने जन्मजात नै संक्रमण हुन सक्ने सम्भावना प्रमुख चिन्ता हो
संक्रमण र जनस्वास्थ्यको जर्नलमा प्रकाशित ‘पेङ इट अल’को एउटा चीनको केस रिपोर्टले कोभिड-१९ संक्रमित २५ वर्षको गर्भवती महिलालाई ज्वरो, थकान, सास फेर्न गाह्रो हुने लक्षण देखिएको साताँै दिनमा ३५+३ हप्ताको गर्भलाई शल्यक्रियाद्वारा २.६ केजीको नवजात शिशु जन्माइएको थियो । नकारात्मक दबाब (नेगेटिभ प्रेसर) युक्त अप्रेसन थिएटरमा पूरै सावधानी अपनाइएको थियो । ड्रपलेट, सम्पर्क, र वायुजनित प्रसारण नियन्त्रण गरिएको थियो । सबै मेडिकल स्टाफले पिपिई र आमाले एन-९५ मास्क लगाएका थिए र उनलाई शिशुको सम्पर्कबाट टाढा राखिएको थियो ।
नवजात शिशुको अस्पतालमा रहँदा, शिशुको घाँटीको स्वाब, मलद्वारको नमुना, रगतको नमुना र मूत्र नमुनाको २ घन्टा एवं १, २, ३, ७, १० र १४ दिनहरूमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस–२ को रिपोर्ट नकारात्मक देखिएको थियो । शिशुलाई १४ दिनपछि डिस्चार्ज गरिएको थियो । साथै डेलिभरीपछि, आमाको सालनालको विभिन्न नमुना (प्लेसेंटा, अम्नियोटिक फ्ल्युड), योनी स्राव र स्तनको दूध (१ देखि ७ दिनसम्म), १० र १४ दिनमा स्वाब परीक्षण गर्दा सबै नमुनामा कोरोना भाइरस–२ नकारात्मक देखिएको थियो । यसले कोरोना भाइरस–२ भर्टिकल ट्रान्समिसनबाट संक्रमण नहुने निचोड निकाल्छ ।
चीनमा गरिएको अर्को अध्ययनले कोभिड-१९ संक्रमित आमाबाट दश नवजात शिशु जन्मेको १ देखि १० दिनसम्म घाँटीको र्याल नमुनाहरू संकलन गरी पिसिआर परीक्षण गर्दा कोरोना भाइरस-२ को नकारात्मक रिपोर्ट देखिएको थियो । यसबाट पनि भर्टिकल ट्रान्समिसनबाट संक्रमण नहुने थप प्रमाण पेस भएको छ । रोगविज्ञान र प्रयोगशाला मेडिसिनको जर्नलमा प्रकाशित डेभिड ए. स्वार्ट्जको लेखले ३८ गर्भवती महिलामा कोभिड–१९ को संक्रमणद्वारा मातृमृत्यु नगराएको र ३० नवजात शिशु कोरोना भाइरस-२ को भर्टिकल ट्रान्समिसनबाट संक्रमित नभएको पुष्टि गरेको छ ।
जेठ ३ मा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्युलाई नेपालको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस-२ संक्रमणबाट पहिलो मृत्यु पुष्टि गरेको थियो । उनको प्राकृतिक डेलिभरीपछि नौ दिनको दिन मृत्यु भएको थियो र मृत्युपश्चात नमुना पिसिआर परीक्षण गर्दा कोरोना भाइरस-२ पुष्टि भएको थियो । तर, शिशुमा १० र १४ दिनमा संकलन गरिएको घाँटीको स्वाब नमुना पिसिआर परीक्षण गर्दा कोरोना भाइरस-२ को नकारात्मक रिपोर्ट देखिएको थियो । यी महिलामा कोरोना संक्रमण बच्चा जन्मिनुअघि भएको हो भने यो केस रिपोर्टले पनि नेपालमा कोरोना भाइरस-२ को भट्रिकल ट्रान्समिसन प्राकृतिक डेलिभरी हुँदा पनि नभएको पुष्टि गर्छ ।
अमेरिकन प्रसूति विज्ञान र स्त्रीरोग विज्ञान जर्नलमा प्रकाशित अर्को रिपोर्टले कोभिड-१९ संक्रमित ७१ गर्भवती महिलाबाट शल्यक्रियाद्वारा जन्मेका शिशुमा केवल ३ (४.२ प्रतिशत) जनामा नाकभित्रको नमुनामा र मलद्वारको नमुनामा आनुवंशिक आरटिपिसिआर परीक्षणबाट कोरोना भाइरस-२ पुष्टि हुनुले कोरोना भाइरस-२ को भर्टिकल ट्रान्समिसनको पक्षमा कडा तर्क प्रस्तुत गरेको छ । यद्यपि सबै शिशुमा छैटौँ दिनपछिको बहुनमुनाहरूको परीक्षणमा नकारात्मक रिपोर्ट आउनुले भर्टिकल ट्रान्समिसनको पक्षलाई शंकास्पद बनाएको छ।
वैज्ञानिक अध्ययन–अनुसन्धानले आनुवंशिक आरटिपिसिआर परीक्षणको कोरोना भाइरस-२ चिन्न सक्ने संवेदनशीलता करिब नाकभित्रको नमुनामा ६३ प्रतिशत, तल्लो श्वासप्रणालीको नमुनामा ९३ प्रतिशत र मलद्वारको नमुनामा २९ प्रतिशत पुष्टि गरेको छ ।
प्रयोगशालाको क्षमताको कमीले गर्दा नेपालमा गरिने एउटा मात्र नमुना संकलन र स्वाब परीक्षणको आधारमा भर्टिकल ट्रान्समिसन प्रमाणित गर्न वा इन्कार गर्न सम्भव छैन । अर्को पाटो, हामीसँग कोरोना संक्रमित गर्भवती महिलाको उचित गर्भधारण शल्यक्रिया गराउन सरकारी र निजी अस्पतालहरूमा ड्रपलेट, सम्पर्क र वायुजनित प्रसारण नियन्त्रण गर्ने सावधानीयुक्त नकारात्मक दबाब (नेगेटिभ प्रेसर) युक्त अप्रेसन थिएटर छन् वा छैनन् भन्ने महत्वपूर्ण विषय हो ।
भर्टिकल ट्रान्समिसनबाट कोरोना भाइरस-२ को संक्रमण न्यून छ भन्ने तथ्य सार्वजनिक भएद पनि केही आधारभूत अध्ययनको निचोडले मात्र अझै निश्चित हुने अवस्था भने छैन । यसका लागि, थप उच्च-गुणस्तरको अनुसन्धान आवश्यक छ । यद्यपि यसको अध्ययन डिजाइन वैज्ञानिक तवरले उचित हुनुपर्छ र विश्वभरका कोभिड-१९ संक्रमित आमाबाट जन्मेका शिशुको जन्मेदेखि १ महिनासम्म नियमित बहुनमुनाहरू संकलन र परीक्षणको परिणामले महत्वपूर्ण वैज्ञानिक निष्कर्ष निकाल्न आवश्यक छ । भर्टिकल ट्रान्समिसनसँग सम्बन्धित वैज्ञानिक खोज, परिणाम र निष्कर्षले ज्ञान र प्रमाणमा आधारित रहेर उचित व्यवस्थापन र उपचार पद्धतिमा दिशानिर्देश गर्छ । नयाँपत्रिका दैनिक







