काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षका सांसदहरूलाई सोधिएका स्पष्टीकरणको राजनीतिक र कानूनी प्रतिवाद गर्ने भएको छ ।
अर्याल होटल बानेश्वरमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले सांसदहरुले व्यक्तिगत रूपमा स्पष्टीकरण बुझाउने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरेको हो । नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई हठात् रुपमा स्पष्टीकरण सोधिनु अराजनीतिक कदम भएको बताइन् ।
‘पार्टीको विभाजनको पक्षमा स्वयं पार्टी अध्यक्ष नै हुनुहुन्छ । निरन्तर उहाँ कम्युनिष्ट आन्दोलन र पार्टी एकता धराशयी बनाउन लाग्नुभएको छ । सांसदहरूलाई सोधिएको स्पष्टीकरण त्यसैको निरन्तरता हो’, झाँक्रीले पत्रकारहरूसँग भनिन् ।
नेपाल पक्षले एमाले एकताको पक्षमा उभिएपनि अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गरेका निर्णयहरू विधानविपरीत रहेकोले प्रतिवाद जारी रहने जनाएको छ ।
‘हामी हाम्रो स्पष्टीकरण दिन्छौं, कानूनी प्रतिवाद पनि गर्छौ र राजनीतिक रूपमा पनि नेतृत्वका गलत कदमविरुद्ध उभिन्छौं’, झाँक्रीले भनिन् ।
अध्यक्ष ओलीले व्यक्तिगत रुपमा पत्र काटेर सोधेको पत्र स्पष्टीकरण दिन लायक नभएपनि स्पष्टीकरण नदिँदा प्रतिरक्षा नगरेको अर्थ जाने भएकोले पत्रको जवाफ बुझाइने झाँक्रीले जनाइन् ।







