काठमाडौं । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न अनुमति पाएको छ ।

भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत विक्री गर्न अनुमति दिएको हो ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा विक्री गर्न अनुमति दिइएको हो ।

दुई ओटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा विक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलवार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमाफर्त विद्युत निर्यात शुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा विद्युत् खरीद गरी आयात गर्न यस अघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत वैशाख १७ गतेबाट आवश्यक परेको वेला आईआईएक्समाफर्त प्रतिस्पधी दरमा विद्युत् आयात गर्दै आएको छ। निर्यातको अनुमति पाएसँगै नेपाल र भारत बीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा‚ जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत विक्री र खरीदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको बताएकि छन् । ‘राजनीतिक‚ कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् विक्रीका लागि अनुमति पाएका छौं‚ यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो’‚ उनले भनिन् ।

‘हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी‚ ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युतगृहबाट उत्पादित विद्युतको भारतीय बजारमा विक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौं ।’

मन्त्री भुसालले दुई मुलुकबीचको विद्युत् व्यापारलाई अहिलको अवस्थासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारबाला निकायलाई धन्यवादको पात्र भएको पनि बताइन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारत बीचको सम्बन्धमा थप इँटा थपिएको बताएका छन् । नेपाल–भारत बीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात शुरु भएसँगै नेपालको जलविद्युत विकासमा ठूलो ढोका खुलेको छ ।

उनले भने, ‘विद्युत् निर्यातको शुरुआत थोरै परिमाणबाट भए पनि चाँडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोशीलगायतका अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौं ।’

उनले विद्युत् व्यापार सम्बन्धमा विभिन्न चरणमा दुई ओटा मुलुकका निकायबाट भएको पहल तथा सहयोगका लागि धन्यवाद ज्ञापन पनि गरेको अभियान दैनीकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!