१९ असार, ताप्लेजुङ। गएराति परेको चट्याङका कारण जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका विद्युतीय उपकरणमा क्षति पुगेपछि राहदानी तथा नागरिकता सम्बन्धी सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै चट्याङका कारण राउटर, कम्प्युटर, प्रिन्टर लगायत कम्प्युटर प्रणालीमा क्षति पुगेको जनाएको छ। विद्युतीय उपकरणमा आएको क्षतिका कारण कार्यालयबाट प्रवाह हुने राहदानी र नागरिकता प्रमाणपत्र सम्बन्धी सेवा तत्कालका लागि रोकिएको सूचनामा उल्लेख गरिएको छ।

कार्यालयका अनुसार क्षतिग्रस्त उपकरणहरूको मर्मत तथा आवश्यकताअनुसार नयाँ उपकरण जडान गर्ने कार्य भइरहेको छ। मर्मत तथा प्रतिस्थापनको काम सम्पन्न भएपछि सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने जनाएको छ।

सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरूमा परेको असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गर्दै सेवा सुचारु हुनेबित्तिकै पुनः जानकारी गराइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!