नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दोस्रो चरणको वडा अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको काठमाडौंसहित सात जिल्लाको वडा अधिवेशनमा अधिकांश युवापुस्ता क्षेत्रीय प्रतिनिधि वा कार्यसमितिमा चुनिएका हुन् । त्यस्तै, यसअघि भइसकेका वडा अधिवेशनमा समेत धेरै वडामा युवा वर्चस्व देखिएको छ ।
काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा र मोरङमा हिजो वडा अधिवेशन सम्पन्न भएको थियो भने यसअघि ५७ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १३ जिल्लामा भने क्रियाशील सदस्यताको विवाद नटुंगिदा अधिवेशन हुन सकेको छैन ।
हालसम्म अधिवेशन भएका वडाको नतिजा हेर्दा युवापुस्ताको हस्तक्षेप बढ्दो देखिएको छ । रोचक त के भने, भर्खरै विद्यार्थी राजनीतिमा पाइला टेक्दै गरेको पुस्ता क्षेत्रीय प्रतिनिधि भएर आउँदा कांग्रेसका हस्ती भनिएकाहरू भने पराजित भइरहेका छन् ।
सिन्धुपाल्चोकमा मात्र नेपाल विद्यार्थी संघका महामन्त्रीदेखि पार्टीका पूर्वसभापतिसम्मले पराजय व्यहोर्दै गर्दा युवापुस्ताहरू निर्वाचित भएका छन् । मंगलबार सिन्धुपाल्चोकका १०३ वडामध्ये ९० वडामा अधिवेशन सम्पन्न भएका थिए । समग्र वडाको नतिजा केलाउँदा करिब ८० प्रतिशत वडामा युवा सभापति चयन भएका छन् ।
जबकि कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति भूपेन्द्रबहादुर थापाजस्ता नेताहरू वडामै पराजित भए । त्यस्तै, नेविसंघका महामन्त्री बलदेव तिमिल्सनाको पनि वडा तहबाटै १४औँ महाधिवेशन यात्रा टुंगो लागेको छ । सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालले पनि वडा तहमै पराजय बेहोर्नुपर्यो ।
त्यस्तै, रोल्पाका पूर्वपार्टी सभापति कृष्ण घर्ती मगर वडातहमै पराजित भए । माढी गाउँपालिका २ मै उनी पराजित भएका हुन् । रोल्पाकै त्रिवेणी गाउँपालिका– ३ को जिल्ला पार्टी सचिवसमेत रहेका मोहन परियार पनि वडा तहमै पराजित भए । यी सबै महाधिवेशन प्रतिनिधिमा दाबी गर्ने नेता थिए ।
यसरी सिनियर नेताहरू पराजित हुँदै गर्दा युवापुस्ता भने क्षेत्रीय प्रतिनिधिको रूपमा आइरहेका छन् । सुनकोशी गाउँपालिकाबाटै १९ वर्षीया सरस्वती जिसी क्षेत्रीय प्रतिनिधिमा आउन सफल भइन् । सम्भवत: उनी कान्छीमध्येकी एक क्षेत्रीय प्रतिनिधि हुन् । जिसीका अनुसार उनको वडामा दाबी गर्ने अन्य पुराना नेताहरू पनि थिए । तर, त्यहाँका अधिकांश मतदाताले आफूलाई बैठकमै प्रतिनिधि बनाउन प्रस्ताव गरेको उनको दाबी छ ।
‘कति अग्रज नेताहरू पनि हुनुहुन्थ्यो । तर, त्यहाँ मलाई प्रतिनिधिको रूपमा सर्वसम्मत चयन गर्नुभयो । मैले पनि आफ्नो दाबी छोडिनँ,’ जिसीले भनिन्, ‘युवाहरूले सबैतिर हस्तक्षेप नगरी हुन्न । कांग्रेसको जमेको तलाउ सफा गर्नैपर्छ । अब मेरो तयारी पनि महाधिवेशन प्रतिनिधिका लागि रहन्छ ।’
Milestonencell
त्यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाबाट २१ वर्षीय कृष्ण बस्नेत क्षेत्रीय प्रतिनिधिमा चुनिएका छन् । उक्त नगरपालिकाबाट चुनिनेमा उनी कान्छा प्रतिनिधि हुन् । यसरी अन्य थुप्रै जिल्लामा १८ देखि २५ वर्ष उमेर समूहका युवाको वर्चस्व पहिलेको तुलनामा बढ्दै गएको देखिन्छ ।
यसभन्दा अघिल्लो चरणको महाधिवेशनमा पनि थुप्रै युवा प्रतिनिधिको रूपमा चुनिए भने कतै वडा सभापति । उमेरले १९ वर्ष पुगेकी स्वस्तिका महत दैलेखको दुल्लु नगरपालिका– ३ मा सभापतिमा चयन भएकी छन् । त्यस्तै, सोलुखुम्बुको नेचा सल्यानकी २१ वर्षीया पूजा फुयाँल सर्वाधिक मतसहित क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइन् । उनी भक्तपुरको सानोठिमी क्याम्पसमा नेविसंघको राजनीति गर्थिन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी १९ वर्षीया दीपिका भण्डारी पनि कांग्रेस क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भइन् । नेविसंघमा सक्रिय भण्डारी युवापुस्ताले गाउँतहदेखि नै हस्तक्षेप गर्दै जानुपर्ने बताउँछिन् । अब गाउँपालिकाको कार्यसमितिमा रहने गरी प्रतिस्पर्धा गर्ने उनको तयारी छ ।
बागलुङको गल्कोटकी सगुन कँडेल पनि सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि बनिन् । पद्यमकन्या क्याम्पसमा नेविसंघबाट सक्रिय राजनीति गरेकी उनी सर्वसम्मत चयन भएकी हुन् । ‘पार्टीले हाम्रो योगदानलाई बुझिदिँदा मलाई त त्यस्तो असहज भएन । तर, अब युवापुस्ताले यसैगरी माथिल्लो तहसम्म हस्तक्षेप गर्नुपर्छ । सिनियर पाका नेताहरूलाई सम्मानसाथ पार्टीको सक्रिय राजनीतिबाट बिदाइ गर्न आवश्यक छ,‘ उनले भनिन् ।
त्यस्तै, स्याङ्जाको गल्याङ नगरपालिका– ४ की पद्मा भुसाल क्षेत्रीय प्रतिनिधिको रूपमा आएकी छिन् । अस्कल क्याम्पसबाट सक्रिय विद्यार्थी राजनीति गरिरहेकी उनले सिनियर नेताहरूमाझ प्रतिस्पर्धा गर्दै क्षेत्रीय प्रतिनिधिमा आउन सफल भइन् । अब प्रदेश महाधिवेशन प्रतिनिधिको रूपमा आउने उनको तयारी छ ।
यसरी विभिन्न ठाउँबाट युवा क्षेत्रीय प्रतिनिधिहरू आउँदा केन्द्रको तहसम्मै प्रभाव पर्ने देखिन्छ । क्षेत्रीय प्रतिनिधिहरूले माथिल्लो तहको नेतृत्व छनोट प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन् । जसमा झण्डै ६० प्रतिशत प्रतिनिधिको रूपमा ४० प्रतिशत युवा नै आइरहेका देखिन्छन् । त्यसमा पनि अधिकांश युवा १८ देखि २५ वर्ष उमेर समूहअन्तर्गत रहेको पाइएको छ ।
यिनै युवाले महाधिवेशन प्रतिनिधि चयन गर्ने र चयन भएर आएकाले केन्द्रीय नेतृत्व छनोट गर्नेछन् । त्यसैले पनि यसपटकको महाधिवेशनमा फरक खालको नतिजा देखापर्ने आकलन गरिएको छ । यद्यपि, यसमा युवा हस्तक्षेप कत्तिको सार्थक देखिन्छ भनेर हेर्न अन्तिम नतिजा नै कुर्नुपर्ने हुन्छ ।
गगन-प्रदीप पुस्तालाई फाइदा हुन्छ : पुरञ्जन आचार्य
अहिले चुनिएका प्रतिनिधिमा देखिएको युवा लस्करले गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाशको पुस्तालाई पाइदा हुने आकलन गर्छन्, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य । हाल आचार्य गाउँगाउँ डुल्दै कांग्रेसको महाधिवेशन नियाल्दै छन् । गाउँका युवासँग कुरा गर्दा तेस्रो पुस्तालाई फाइदा हुनेगरी उनीहरूको मत जाने सम्भावना देखिएको उनले बताए ।
हाल कांग्रेसमा ७५ वर्ष नाघेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल सभापतिको नेतृत्व दाबी गरिरहेका छन् । यीबाहेक गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइरालालगायत सभापतिमा दाबी गर्नेहरू पनि ७० वर्षमाथिकै छन् । सभापति नै दाबी गरिरहेका नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले पनि ६५ वर्ष पार गरिसकेका छन् । यसरी जमेर बसेका पाका पुस्ताप्रति युवा प्रतिनिधिको आकर्षण नदेखिएको आचार्यको भनाइ छ ।
त्यस्तै नेविसंघ, तरुण दललगायतको अधिवेशन समयमा नहुँदा पनि विद्यार्थीको आकर्षण पार्टी राजनीतिमा देखिएको आचार्यले बताए । ‘धेरै समय भ्रातृ संगठनको अधिवेशन भएन । यताबाट विरक्तिएका विद्यार्थी सबै पार्टी अधिवेशनमा होमिँदा यस्तो परिणाम आएको हो,’ उनले भने, ‘मैले यहीँ युवाहरूसँग कुरा गर्दा ‘नेविसंघको अधिवेशन कहिले हुन्छ कहिले, त्यसैले यतै आइयो’ भन्ने धेरै पाएको छु ।’







