द होराइजन मल्टिमिडिया प्रालिले सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन कार्यक्रम ‘ऐना’को पहिलो सिजन सम्पन्न भएको जनाएको छ । कान्तिपुर टेलिभिजनमा २०७७ माघ ७ गतेदेखि २०७८ असार ३० गतेसम्म ऐनाका २६ एपिसोड प्रसारण भएका थिए । आइतबार एक कार्यक्रम आयोजना गरी ऐनाको प्रोडक्सन कम्पनी द होराइजन मल्टिमिडियाले प्रायोजक र टिमका सदस्यलाई ‘टोकन अफ लभ’ र प्रमाणपत्र वितरण गरेकाे छ ।
कार्यक्रममा ऐनाको शीर्षक प्रायोजक ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग-वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले ऐनाजस्तो सामाजिक रूपान्तरणको अभियान बोकेको कार्यक्रममा सहकार्य गर्न पाउँदा गर्व लागेको बताए ।
ऐनाको अर्को प्रायोजक चौधरी फाउन्डेसनकी जनरल मेनेजर मेरिना रञ्जितले ऐनाबाट प्रायोजनका लागि प्रस्ताव आउँदा कार्यक्रम सफल हुन्छ कि हुँदैन भन्ने शङ्का लागे पनि ऐनाले त्यो शङ्का पहिलो एपिसोडबाट मेट्न सफल भएको बताइन् ।
यसैगरी, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले एक जना नेताले सञ्चालन गर्ने कार्यक्रमले के प्रभाव पार्ला र भन्ने लागे पनि कार्यक्रम ऐनाले विशुद्ध सामाजिक मुद्दामा गहन छाप छोड्न सफल भएको बताए ।
कार्यक्रममा ऐनामा प्रायोजन गर्ने सबै प्रायोजकसँगै ऐना निर्माणमा जुटेका ५० भन्दा सहकर्मीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।







