ताप्लेजुङ – साउन १४ गते विहिबार । दिउँसोका करिब १२ बजेको थियो । विरेन्द्रचोकस्थित उद्योग वाणिज्य सँघको भवनमा मान्छेको भीड थियो । सदरमुकामस्थित वीरेन्द्रचोकदेखि भवनसम्म मान्छेको २ लाइन बनेको थियो । भवन जाने बाटोको दाहिनेतर्फ महिला र देव्रेपट्टि पुरुषको लाइन थियो । कोविड–१९ खोप लगाउन पालो पर्खेर लाइनमा उभिएकाको दृश्य निकै कष्टकर थियो ।
मौसमले पनि लाइनमा उभिएकालाई गाह्रो बनायो । साउने घामले अधिकांशको निधारमा चिटचिट पसिना झरेको देखिन्थ्यो । न भौतिक दुरी, न त चुस्त व्यवस्थापन नै । पालो मिचेर खोप लगाउने पनि भेटिएको लाइनमा उभिएकाको गुनासो थियो । पालो पर्खिएकाको मुहारले आक्रोशको झल्को दिन्थ्यो । तथापी घण्टौ कुरेर भए पनि खोप लगाउने लाइनमा उभिनेको मनसाय थियो ।

फुङलिङ नगरपालिका–५ का ३४ वर्षीय शैलेन्द्र गुरुङको हातमा सवारी चालकको लाइसेन्स र नागरिकताको फोटोकपि थियो । गुरुङले भने,“डेढ घन्टाजति भयो उभिएको । हेरौ,अब त्यति नै समयमा पालो आउँला कि !” फुङलिङ नगरपालिका–२ का ३५ वर्षीय सुरेन्द्र बस्नेत । पेशाले उनी शिक्षक हुन् । भिडभाडको लाइनमा बसौ कि नबसौ भनि साथीसँग बोल्दै गर्दा भेटिए । उनले भने,“सुरक्षाका लागि खोप लगाउन आइयो । राम ! राम ! कतिन्जेल पर्खेर खोप लगाउनु ।” लाइनमा उभिएकामा संक्रमण होला कि भन्ने डर त थियो नै,खोप पनि नपाइएला कि भन्ने चिन्ता ! फुङलिङ नगरपालिकाका नगरउपप्रमूख बमबहादुर भट्टराई (तारा) मान्छेको उपस्थिति अवलोकन तथा व्यवस्थापन गर्न व्यस्त देखिन्थे । उपप्रमूख भट्टराईले भने,“लाइनमा उभिएका जतिलाई खोप पुग्छ ।
अब योभन्दा पछाडि लाइनमा बस्न आए नबस्न अनुरोध गर्छु ।” ६ सय जनालाई पुग्ने गरिको पहिलो डोजको खोप भएको उनले जानकारी दिए । फुङलिङ नगरपालिका–५ का राम गुरुङले खोपको दोश्रो मात्रा लगाउने भनिएतापनि पहिलो डोज पनि लगाउने हल्ला सुनेको बताए । ४३ वर्षीय गुरुङले भने, “खोप थोरै भएकाले पहिलो डोज पनि लगाउँछ भनेको सुनेँ । त्यही भएर हतार गरेर आएको हुँ ।” कतिपयले लाइनमा उभिएकासँग सोधपुछ गरेर थाहा पाएलगत्तै आफन्तलाई खोप लगाउन आउन अनुरोध गरेको पाइयो ।
जनप्रतिनिधि तथा सर्वसाधारणले खोप व्यवस्थापनप्रति असन्तुष्टि प्रकट गरे । फुङलिङ नगरपालिका–९ का वडाअध्यक्ष तारानाथ बरालले व्यवस्थापन कमजोर भएको स्विकार गरे । अध्यक्ष बरालले भने,“खोप व्यवस्थापनमा हामी चुक्यौ । अबका दिनमा यो गल्ती सुधार गर्छौ ।” भेरोसिल खोपको दोस्रो डोज लगाउने भनेर पहिलो डोज पनि लगाएकोमा सर्वसाधारण रुष्ट बने । बिना सूचना पहिलो डोजको खोप लगाएको हो । भेरोसिल खोपको पहिलो डोज लगाउने सूचना नै जारी गरेनन् । अरुबेला स्थानिय सञ्चारमाध्यममा खोपबारेमा सूचना प्रकाशन तथा प्रसारण गर्ने गरेको थियो । यद्यपि यो पटक सूचना नै सार्वजनिक नगरी खोप लगाएकोमा सम्बन्धित निकायप्रति सर्वसाधारणबाहेक सबै मौन बसेका छन् । नगरपालिकाका ११ वटै वडाका बासिन्दालाई समान व्यवहार गर्न नसकेकोमा अधिकाँशको गुनासो थियो । नागरिकको स्वास्थ्यसँग जोडिएको खोप जस्तो महत्वपूर्ण विषयमा पनि सम्बन्धित निकायको गंम्भिरता नदेखिएको हो । विहीबार अवेरसम्म पहिलो र दोश्रो डोजको खोप लगाएकाको तथ्याङ उपलब्ध हुन सकेन् । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख मन्जु गुरुङका अनुसार साँझ ५ बजेसम्म खोप लगाउन व्यस्त भएकाले गणना गर्न बाँकी छ । यद्यपी बेलुकी ५ बजेसम्म नयाँ र पुराना गरि ७ सयजनाले खोप लगाएका छन् । लाइनमा उभिएकाको प्रश्न थियो,के सूचना नै नगरि खोप लगाउन पाइन्छ ?
Karobar daily

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!