ताप्लेजुङ,असार ३१। जिल्लाको फुङलिङ नगरपालिका–२ को कार्यालयले आ.व.२०७७÷७८ मा ६ वटा हाते ट्याक्टर वितरण गरेको छ । वडा कार्यालयमा बुधबार आयोजित कार्यक्रममा ६ वटा कृषक समूह तथा फर्मलाई ६ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
फर्म तथा समूहमा आबद्ध कृषकको माग बमोजिम ६ लाख ८१ हजार रुपैयाँ बरावरको हाते ट्याक्टर वितरण गरिएको वडाअध्यक्ष मोहन न्यौपानेले जानकारी दिए । वडाअध्यक्ष न्यौपानले भने,“मागमा आधारित भएकाले साझेदारी वितरण गर्यौ ।
भविष्यमा माग भए निरन्तरता दिन्छौ ।” वडा कार्यालयको ३ लाख र १ लाख ८१ हजार फर्म तथा समूहको लगानी छ । वडा सचिव कृष्णप्रसाद सुबेदीका अनुसार खेतीयोग्य जमिनका लागि कृषकले आवश्यकता महसुस गरेर माग गरेको थियो ।
हान्द्रुङ बहुउदेश्यीय कृषक समूहका तुलसीराम पौडेल,उज्यालो ताजा तरकारी समूहका लक्ष्मी प्रसाद सुवेदी,सूर्य ज्योती गहिरीगाउँ महिला कृषक समूहका गोमा बराल घिमिरे,सुर्योदय कृषक समूहका पुण्य प्रसाद न्यौपाने,कंञ्चनजंघा पशु तथा कृषि व्यवसाय फर्मका कृष्ण कुमार बस्नेत र देउलिङे कुखुरा पालन कृषक समूहका देउनारायण पुरीले हाते ट्याक्टर बुझेका छन् ।







