प्रतिनिधिसभा विघटन मुद्दामा सरकारको पक्षबाट बहस गर्न आएका सरकारी वकिललाई न्यायाधीशले ‘अस्थिरताको कारण अदालतको फैसला हो र ?’ भनेर प्रश्न गरेका छन् ।
नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार यस्तो प्रश्न गरेका हुन् ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गरिरहेका पाण्डेयलाई उनले प्रश्न गरे, ‘एकमात्र अस्थिरता भएको कारण अदालतको फैसला भन्ने ढंगको तपाईंहरुको ब्याख्या आयो, लिखित जवाफमा पनि त्यही पाइयो । के यो सबै कारण अदालतको फैसला हो कि यसबाहेक अरु कारण पनि छन् ?’
महान्यायाधिवक्ता रमेश बडालले सोमबार बहस गर्दा राजनीतिक मुद्दामा अदालतले हात हाल्दा अस्थिरतालाई निम्त्याउने बताएका थिए । मंगलबार पाण्डेले पनि सोही आशयको तर्क गरेपछि न्यायाधीशले यस्तो प्रश्न गरेका हुन् ।
जवाफमा पाण्डेयले भने, ‘सबै कारण अदालको फैसलामात्रै भन्न खोजेका छैनौं, आदेश पनि एउटा कारण हो ।’
पाण्डेयले प्रतिनिधिसभा विघटनपछि भारतमा स्थायित्व भएको ब्याख्या गरेका छन् । स्थायित्वका लागि समय लाग्ने र ठुला पार्टी निर्माण गर्न सकेमा स्थायित्व आउने पाण्डेको भनाइ छ ।







