एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को स्पेन र क्रोएसियाबीच जारी खेल अतिरिक्त समयमा लम्बिएको छ । स्पेनले ३-१ को स्थितिबाट अन्तिम समयमा २ गोल खाएपछि क्रोएसियाले खेल ३-३ को बराबरीमा ल्याउँदै अतिरिक्त समयमा पुर्याएको हो ।

पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले नै खेलको रुप परिवर्तन भएको थियो । तर अन्त्यतिर गोल गर्दै स्पेन पहिलो हाफमा नै खेलमा फर्कन सफल भयो ।
दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई जारी राख्दै अग्रता लिन सफल भयो । अग्रता लिएपछि क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि स्पेनको डिफेन्सले बलियो प्रदर्शनका साथ खेलमा अग्रता कायम राख्यो । स्पेनले दोस्रो हाफमा २ गोल गर्दै सहज जिततर्फ उन्मुख देखिएपनि क्रोएसियाले अन्त्यतिर दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएको थियो ।
नवौं मिनेटमा कोकेको फ्रिकिकमा सेजार एज्पिलीक्वेटाको हेडरलाई गोलरक्षक लिभाकोभिचले सहजै बचाए । १३ औं मिनेटमा अल्भारो मोराटाको पासमा पाब्लो सराबियाको प्रहार बाहिरिंदा स्पेन अग्रता लिनबाट चुकेको थियो ।

खेलको २० औं मिनेटमा क्रोएसियाले अप्रत्याशित रुपमा अग्रता लियो । स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडी झर्दा उनको बल रोक्ने प्रयास खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो । युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल थियो ।
आत्मघाती गोलभन्दा केहि मिनेट अघि मात्र स्पेनले गोल गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेको थिएन । मिडफिल्डर पेड्रीले दिएको पासमा कोकेको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई गोलरक्षक लिभाकोभिचले खुट्टाले सुन्दर बचाउ गरेका थिए ।
अग्रता लिएपछि उच्च मनोबलमा देखिएको क्रोएसियाले थप दुई अवसर सिर्जना गरेको थियो । २५ औं मिनेटमा निकोला भ्लासिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसको एक मिनेटपछि नै माटियो कोभाचिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।

३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबीयाको प्रहार भने गोल भएको थियो । इन्ज्युरी समयमा अल्भारो मोराटाले पोस्टमा प्रहार गर्न सकेनन् ।
दोस्रो हाफमा स्पेनले आफ्नो स्वभाविक खेल पस्कदै क्रोएसियालाई दबाबमा राखेको थियो । ५७ औं मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई खेलमा पहिलो पटक अग्रता दिलाए । फेरान टोरेसको क्रसमा एज्पिलीक्वेटाले हेडरमार्फत गोल गर्दै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
६६ औं मिनेटमा आन्टे रेबिचको प्रहारलाई गोलरक्षक सिमोनले सानदार बचाउ गरे । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उनले गरेको शक्तिशाली प्रहारलाई सिमोनले आफ्नो बायाँतर्फ डाइभ गर्दै बचाएका थिए । ७२ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन । मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो ।

७७ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई क्वाटरफाइनल स्थाननजिक पुर्याएका थिए । उनले पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै गोलरक्षक लिभाकोभिचलाई बिट गरेका थिए । ८४ औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानी ओल्मोको प्रहारलाई भने गोलरक्षकले बचाएका थिए ।
८५ औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेलमा फर्कने संकेत दियो । ६ यार्ड बक्सभित्र लगातार एकपछि अर्को प्रहार गरेको क्रोएसियाको प्रहार स्पेनिस डिफेन्सले क्लिअर गर्न सफल रहेको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले मिस्लाभ ओर्सिचको प्रहारलाई एज्पिलीक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएका थिए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत गोल गर्दै स्पेनी समर्थकलाई निराश बनाएका थिए । पासलीचको हेडरलाई गोलरक्षक सिमोनले बचाउने कुनै अवसर नै पाएका थिएनन् ।







