एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को स्पेन र क्रोएसियाबीच जारी खेलको पहिलो हाफमा १-१ को बराबरीमा सकिएको छ ।

पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले नै खेलको रुप परिवर्तन भएको थियो । तर अन्त्यतिर गोल गर्दै स्पेन पहिलो हाफमा नै खेलमा फर्कन सफल भयो ।

नवौं मिनेटमा कोकेको फ्रिकिकमा सेजार एज्पिलीक्वेटाको हेडरलाई गोलरक्षक लिभाकोभिचले सहजै बचाए । १३ औं मिनेटमा अल्भारो मोराटाको पासमा पाब्लो सराबियाको प्रहार बाहिरिंदा स्पेन अग्रता लिनबाट चुकेको थियो ।

खेलको २० औं मिनेटमा क्रोएसियाले अप्रत्याशित रुपमा अग्रता लियो । स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडी झर्दा उनको बल रोक्ने प्रयास खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो । युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल थियो ।

आत्मघाती गोलभन्दा केहि मिनेट अघि मात्र स्पेनले गोल गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेको थिएन । मिडफिल्डर पेड्रीले दिएको पासमा कोकेको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई गोलरक्षक लिभाकोभिचले खुट्टाले सुन्दर बचाउ गरेका थिए ।

अग्रता लिएपछि उच्च मनोबलमा देखिएको क्रोएसियाले थप दुई अवसर सिर्जना गरेको थियो । २५ औं मिनेटमा निकोला भ्लासिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसको एक मिनेटपछि नै माटियो कोभाचिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।

३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबीयाको प्रहार भने गोल भएको थियो ।

यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डको विजेतासँग खेल्नेछ । यो खेल आज मध्यरात १२:४५ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!