अधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसको जिल्ला र गाउँपालिकामा उम्मेदवारको चर्चा र घोषणा सुरु भएको छ । पार्टी सचिव छविलाल गुरुङले अबको अधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने बताएका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका, प्रदेश र संघ कतै पनि उम्मेदवार नबन्ने तर पार्टीलाई हरेक निकायमा जिताउने उद्देश्यका साथ उम्मेदवार बन्न लागेको उनको दाबी छ । ‘मैले अग्रजहरू सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशवप्रसाद दाहाल, पार्टीका नेताहरू दीपेन्द्रकुमार सेन्दाङ, प्रताप प्रकाश हाङगामसँग पनि अनौपचारिक छलफल गरेको छु,’ गुरुङले भने, ‘उहाँहरूले राम्रै सन्देश दिनुभएको छ ।’
तर गुरुङले नाम लिएकामध्ये हाङगामले भने आफैं सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । पूर्वसचिव गजेन्द्र तुम्याहाङले सभापतिको उम्मेदवार बन्ने घोषणा यसअघि नै गरेका छन् । यसअघिको निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका उनले युवाले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् । लहाङगामले सहयोग गर्ने अपेक्षामा तुम्याहाङ रहेको उनीनिकट स्रोतले बताएको छ । सभापति भइसकेका बोखिम, दाहाल अहिलेसम्म खुलेका छैनन् भने सेन्दाङ पनि कतै खुलेका छैनन् ।
यसअघिसम्म उपसभापति र एक जना सचिव मनोनयन गर्ने भए पनि आगामी अधिवेशनमा सभापति, उपसभापति, सचिव, सहसचिव पदका लागि प्रत्यक्ष निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष मात्रै मनोनयन गर्न पाउने व्यवस्था भएकाले सबैले चुनावी प्रतिस्पर्धाबाट आउनुपर्ने बाध्यता छ । यतिबेला कांग्रेसमा एक व्यक्ति एक पदको अवधारणा पनि विकास भइरहेको छ । भविष्यमा उम्मेदवार नबन्ने भन्दै उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
नगरपालिका र गाउँपालिकामा पनि नेतृत्वको चर्चा सुरु भएको छ । नगरपालिका सभापति शिवकुमार गुरुङको मृत्यु भएपछि नगरपालिकाको सभापतिको विषय पनि चर्चामा छ । वर्तमान सचिव सुरेश सिंघकले अबको सभापतिमा आफ्नो दाबी रहेको बताएका छन् । अल्पायुमै दिवंगत भएका सभापति गुरुङको भावनाको सम्मानका लागि पनि आफू सभापतिको उम्मेदवार हुन आवश्यक भएको उनले बताए ।
दुई कार्यकाल सचिव र एक कार्यकाल कोषाध्यक्ष भइसकेकाले अबको बाटो सभापतिमै भएको उनको तर्क छ । नेपाल विद्यार्थी संघका पूर्वसभापति गोपाल गुरुङ पनि नगरसभापतिको उम्मेदवारी घोषणाको तयारीमा छन् । ‘मेरो अबको यात्रा नगरसभापतिमै हो,’ गुरुङले भने, ‘नेताहरूसँग छलफलमा छु ।’ ekantipur







