७ असार, ताप्लेजुङ, । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका कर्मचारीले कार्य क्षेत्रमा खटिएका कर्मचारी माथी आक्रमण भएको भन्दै आपत्ति जनाएकाछन् ।
सोमबार वडा नम्बर १ मा पर्ने परमसिंह माध्यामिक विद्यालयको निर्माणाधिन भवनको अनुगमनमा खटिएका ईन्जिनियर बिशाल गुरुङ र असिष्टेन्ट सब ईन्जिनियर दिछेन शेर्पा माथी जनप्रतिनीधि सहितका युवाहरुद्धारा आक्रमण भएको भन्दै आपत्ति जनाएकाहुन् ।
भवनको अनुगमनमा पुगेका दुई कर्मचारीलाई वडा सदस्य समेत रहनुभएका मल्लाराज पोमु, स्थानीय नविन पोमु, कृष्णराज पोमु, कर्ण थलङ, जयमान गुरुङ, सरद पोमु, असिम पोमु साथै निर्माण कार्यमा संलग्न कामदारले आक्रमण गरेको गाउँपालिकाका कर्मचारीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
जनताबाट चुनिएका जनप्रतिनीधिले स्थानीय स्तरमा उत्पन्न विवाद निरुपण गरि सहज बातावरण बनाउनुका सट्टा उल्टै कर्मचारी माथी आक्रमणमा संलग्न हुनु दुखद घटना भएको समेत विज्ञप्तीमा जनाईएको छ ।

घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन उनिहरुले माग पनि गरेकाछन् । यता उक्त घटनाका सम्बन्धमा बुझ्न प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।







