पोखरा ।
मौसममा खराबी आएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ ।
मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा मनाङ गएको थियो । सेनाको हेलिकप्टरलाई उद्धारमा छोडेर मुख्यमन्त्री प्रमु एयरको हेलीकप्टरमा फर्कने कार्यक्रम थियो तर, हेलिकप्टर चामेमा ल्याण्ड हुन सकेन । मौसमका कारण उद्धार पनि हुन नसकेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
प्रदेश सभामा शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यक्रम छ । ४ असारमा विश्वासको मत लिने भनेर प्रदेश सभामा हिजो बुधबार नै प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । पोखरेल भने मनाङमा फसे पछि शुक्रवारको कार्यसूचि प्रभावित हुन सक्ने देखिएको छ ।
प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्री आफैंले पेस गर्नुपर्छ । तर उनी आज अझै फर्कन पाएका छैनन् । उनीसँगै अरु २ सांसद राजीव गुरुङ र चिन्तबहादुर घले पनि मनाङमा अड्कीएका छन् ।
सरकारका प्रवक्ता कुमार खड्काले विश्वासको मत लिने दिनको कर्यसूची वारे जिज्ञासा आएको भन्दै स्पयटकरण दिएका छन् । उनले मौसममा सुधार भएका मुख्यमन्त्री भोलि बिहानै फर्कने र संसदको कारवाही अगाडि बढ्ने बताए । आउन नसक्नुभएमा अर्को दिनको कार्यसूचीमा तय हुने खड्काले बताए । यसका बारेमा संसद सचिवालयमा कुरा भइसकेको उनले स्पष्ट पारेका छन् ।
मनाङमा रहेका मुख्यमन्त्री पोखरेलले पनि फेसबुकमा स्टाटस मार्फत मनाङको अवस्था वारे जानकारी गराएका छन् ।
उनले यस्तो लेखेका छन् :
हाम्रो टोली आज मनाङ सदरमुकाम चामेमै बस्नुपर्ने भएको छ । मौसमको खराबी भए पनि हामी सुरक्षित रुपमा बसेका छौं । मौसम सफा हुने बित्तिकै हामी भोलि फर्कने छौं । उद्धार र राहतका लागि सरकार प्रतिबद्ध छ । मौसम खराब छ । उद्धारमा समस्या भइरहेको छ । उद्धार मात्र हैन, राहत र बसोबासको ब्यवस्था प्रदेश सरकारले मिलाउँछ । हामी यहाँबाट फर्केर तत्काल ब्यवस्थापनका लागि बजेटको प्रबन्ध गर्नेछौं । जहाँसम्म विश्वासको मतको कुरा छ । मौसम सफा भएमा बिहानै हामी पोखरा आउँछौं । सदन चल्छ र कारवाही अगाडि बढ्छ ।अवस्था अनुकुल भएन र समयमै आउन सकिएन भने संसद सचिवालयले अर्को दिनको कार्यसूची बनाउँछ यसका लागि ।
कृष्णचन्द्र नेपाली पोखरेल
मुख्यमन्त्री, गण्डकी प्रदेश







