२८ जेष्ठ, काठमाडैं । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेका छन् । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष ओलीले आयोगको बैठक डाक्नु भएको हो।
आयोगको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ । आयोगको बैठकको एजेण्डाको चौथो नम्बरमा बिएण्डसीको सम्बन्धनसम्बन्धी विषय छ।
त्यसअघि नै सरकारले नियुक्त गरेर र पदेन सदस्यलाई बैठकमा उपस्थित हुन र सम्बन्धनको पक्षमा मत राख्न निर्देशनसमेत दिइसकेको एक सदस्यले बताए।
बिएण्डसीको विषय अदालतमा विचाराधिन रहेको र चिकित्सा शिक्षा ऐनको दफा १३ को ६ अनुसार पनि सम्बन्धन दिन नमिल्ने बताइएको छ ।
यसैबीच डा. गोविन्द केसीले बीएण्डसीलाई सम्बन्धन नदिन प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभएको छ ।
झापाको बि एण्ड सी मेडिकल कलेजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धन दिने तयारी गरेपछि यमनमा रहनुभएको केसीले प्रधानमन्त्री ओलीलाई पत्र लेख्नु भएको छ ।
उहाँले चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाक्नुभएको भन्दै त्यसप्रति सचेत गराउन प्रधानमन्त्रीलाई पत्र लेख्नु भएको हो ।
आयोगको बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए प्रधानमन्त्री ओलीले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रह सुरु गर्ने केसीले चेतावनी दिनु भएको छ ।
यस्तो छ केसीको पत्र
२०७८ जेठ २८
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार,
सिंहदरबार, काठमाडौँ।
विषय: ज्ञापन पत्र तथा ध्यानाकर्षण।
महोदय,
यहाँलाई स्मरण नै छ कि नेपाली नागरिकहरुको निरन्तरको प्रयासको फलस्वरूप चिकित्सा शिक्षा सुधारको ऐन निर्माण भई चिकित्सा शिक्षा आयोग गठन भएको छ जसले गर्दा सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा प्रत्येकले नेपाली नागरिकले समान पहुँच प्राप्त गर्न सफल हुनेछन्। तर विडम्बना यो छ कि सोही आयोगको अध्यक्षको हैसियतले यहाँले त्यसको मर्मको सम्मान गर्नुको सट्टा स्वास्थ्य माफियाहरुको हितको लागि त्यसलाई तोड्ने काम गर्दै हुनुहुन्छ।
मेरो जानकारीमा यो आएको छ कि यहाँले शुक्रबार जेठ २८ गते बि एण्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाक्नुभएको छ। नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्। तर स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन वर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो।
खासमा यहाँले कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम-नेपालीहरुको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्ने थियो। साथै, आयोगको अध्यक्षको हैसियतले बि एण्ड सी मेडिकल कलेजका संचालकलाई हाम्रा साथीहरु तथा आयोगका पदाधिकारीहरुलाई बारम्बार ज्यानको धम्की दिए वापत कारवाही गर्नुपर्ने थियो। तर यहाँले आफ्नो पदको दुरुपयोग गरी तिनै संचालकलाई पुरस्कृत गर्न उचित ठान्नुभयो। यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य हुनेछैन।
हाल, म करिब २ महिनादेखि युद्धग्रस्त यमनमा स्वयंसेवा गरिरहेको छु। छ वर्षदेखि चलिरहेको गृहयुद्धले लाखौं नागरिकहरुको ज्यान लिइसक्यो, लाखौं घाइते भए, अनि लाखौं नागरिक विस्थापित भई अन्तराष्ट्रिय दातृ निकायहरुको सहयोगको भरमा बाँचिरहेका छन्। भोकमरी, कुपोषण तथा रोगले देश ग्रसित छ तर खासै अराजकता देखिदैन। तर नेपालमा त्यस्तो दयनीय अवस्था नभए पनि चरम अराजकता छ। यो सब यहाँको अहंकार तथा पद लोलुपताको फल हो जुन यो एकदम निन्दनीय छ। तसर्थ, आफ्नो कार्यहरुमा सुधार ल्याई आम नेपालीहरुको हितमा काम गर्नुहुनेछ र चिकित्सा शिक्षा ऐनको मर्मलाई अनुसरण गरी छिटो भन्दा छिटो त्यसको सफल कार्यन्वयनमा लाग्नुहुनेछ भन्ने कामना गर्दछु।
यदि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न गैर-न्यायिक संशोधन गरिएमा उक्त कदम तथा यहाँले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रहको शुरुवात म नेपाल फर्कन बितिक्कै थाल्ने चेतावनी दिन चाहन्छु। त्यसको लागि तयार रहनुहोला।
एक आम नागरिक,
डा. गोविन्द केसी
हाल शिहेन, यमन।







