एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युईएफए) को आयोजनामा युरोपका राष्ट्रबीचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरोपेली च्याम्पियनसिपको १६औं संस्करण आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटकको युरो कप युरोपको ११ देशको ११ शहरमा आयोजना हुँदैछ । युरोकपको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको इटालीले घरेलु मैदानमा टर्कीको आतिथ्यता गरेपछि युरोकप औपचारिक रुपमा सुरु हुनेछ । रोमस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।
११ जुलाईदेखि ११ जुनसम्म ११ शहर (लन्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्ग) मा आयोजना हुने युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । । फाइनल वेम्वली स्टेडियम लन्डनमा हुनेछ ।
उद्घाटन खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित भएयता पछिल्लो २५ खेलमा अपराजित छ । यसक्रममा इटालीले २० जित र ५ बराबरीको नतिजा निकालेको छ । इटाली सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ ।इटालीसँग सिरो इमोविले, लोरेन्जो इन्सिग्ने, फेडरिको चिइसा, जर्गिन्हो, म्यानुयल लोकाटेली, निकोलो बरेल्ला, लियोनाद्रो बोनुची, जिअरजियो किएलिनी, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक जियानलुइगी डोन्नररुम्माजस्ता नाम चलेका खेलाडीको साथ रहेको छ ।
यता, टर्की पनि इटालीलाई स्तब्ध पार्दै युरोकपमा सुखद सुरुवात गर्न चहान्छ । गत नोभेम्वरमा नेसन्स लिगमा हंगेरीसँग २–० ले पराजित भएयता अपराजित टर्कीले त्यसपछि चार जित र दुई बराबरीको नतिजा निकालेको छ । टोलीसँग बुराक यिल्माज, हकान कलहानोग्लु, काल्गर सोयन्कु, मेरिय डेमिरल र ओजान तुफानजस्ता खेलाडीको साथ रहेको छ ।समूह विभाजन
समूह ‘ए’ – (रोम/बाकु) – टर्की, इटाली (आयोजक), वेल्स र स्वीट्जरल्यान्ड
समूह ‘बी’ – (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) – डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)
समूह ‘सी’ – (आम्स्टरडम/बकारेस्ट) – नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया
समूह ‘डी’ – (लन्डन/ग्लास्गो) – इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक) र चेक रिपब्लिक
समूह ‘ई’ – (सेभिया/सेन्ट पिटर्सवर्ग) – स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड र स्लोभाकिया
समूह ‘एफ’ – (म्युनिख/बुडापेस्ट) – हंगेरी (आयोजक), पोर्चुगल (च्याम्पियन), फ्रान्स र जर्मनी (आयोजक)







