२२ जेठ, ताप्लेजुङ। ताप्लेजुङका एक वृद्धको कोरोना संक्रमणका कारण निधन भएको छ ।
निधन हुनेमा फुङ्लिङ नगरपालिका–१ सेगुम्बाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार राती करिव ११ बजे निधन भएको वडाध्यक्ष पदमबहादुर सुनुवारले जानकारी दिनुभयो ।
वृद्धलाई शुक्रबार बिहान मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ । वडाध्यक्ष सुनुवारका अनुसार उपचारकै क्रममा वृद्धको राती निधन भएपछि गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । निधन भएपछिमात्र कोरोना पुष्टि भएकाले धरानदेखि नै वृद्धको शव स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शवलाई ताप्लेजुङ ल्याइएको थियो । शवका अन्त्यष्टिका लागि पीपीई लगाएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शनिबार दिउँसो तमोर नदीको दगुर्ने घाटमा अन्त्येष्टि गरिएको पनि वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
शव लिएर आउने साथै अन्त्येष्टिमा संलग्न रहेका परिवालाई कम्तिमा एक सातासम्म होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको समेत वडाध्यक्ष सुनुवारले बताउनुभयो । होमक्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा कुनै समस्या देखिएमा तत्काल नजिकैको स्वास्थ्यकर्मी अर्थात जनप्रतिनिधिलाई खबर गर्न समेत आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।







