काठमाडाैँ । परराष्ट्र मन्त्रीबाट बाहिरिएपछि प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले करिब सवा तीन वर्ष मन्त्री पदबाट बाहिरिँदा आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको जानकारी दिएका हुन् ।

ज्ञवालीले साढे ३ वर्ष मन्त्री हुँदाको अवधिमा आफूले विदेश भ्रमण वापदको लेबी ३ लाख १४ हजार ९३० बुझेको बताएका छन् । यस्तै पारिश्रमिक वापदको लेभी ६ लाख २० हजार बुझेको पनि जानकारी दिए । ती दुवै लेभीसहित जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ नेकपा एमालेको खातामा जम्मा गरेको उनकाे भनाइ छ ।

उनले आफ्नो पारिश्रमिकको करकट्टी बापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उल्लेख गरे । अहिले आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको ज्ञवालीले जानकारी दिए । ‘केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु’, उनले भनेका छन् ।

उनले परराष्ट्र मन्त्रीका रुपमा आफूले प्रयोग गरेको सरकारी ल्यापटप पनि फर्काएको बताएका छन् । ‘मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको छु’, उनले भनेका छन्, ‘पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।’

आफूलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनले आभार व्यक्त गरे । ‘करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर बिदा भएको छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु ।’

मन्त्री वाट विदा भएपछि प्रदिप ज्ञावलीको प्रतिक्रिया

करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।
नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।
मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।
यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।
भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!