काठमाडौँ — विश्वकप छनोटमा नेपालले बिहीबार चिनियाँ ताइपेईलाई हराएको छ । बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको हो ।कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका हुन् ।
ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो । त्यस्तै ८१औँ मिनेटमा नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन् ।
एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भएको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
अर्को खबर-आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने २०२० को ओलम्पिकमा सुटिङकी कल्पना परियार वाइल्ड कार्डमार्फत छनोट भएकी छन् ।
त्रिभुवन आर्मी क्लबकी सुटिङ खेलाडी कल्पना टोकियो ओलम्पिकमा खेल्ने पक्का भएको चौथो नेपाली खेलाडी हुन् । यसअघि पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्की अनिवार्य कोटामा छानिएका हुन् ।
नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकका लागि १२ खेलाडीको नाम वाइल्ड कार्डका लागि आवेदन गरेको थियो । जसमा सबै खाले मापदण्ड पूरा गर्दै सुटिङ खेलाडी परियार छनोट भएकी हुन् । कल्पनाले यो अवसर सदुपयोग गर्दै टोकियोमा राम्रो प्रदर्शन गर्ने र स्कोर सुधार गर्ने लक्ष्य बनाएकी छिन् ।
उनीसंगै सुटिङकै अर्की खेलाडी सुस्मिता नेपाल ओलम्पिक स्कलरसिप अन्तर्गत रहेर निरन्तर प्रशिक्षण गरिरहेका थिए । वाइल्ड कार्ड प्राप्त गरेपछि अहिले कल्पनाको चर्चा बढेको छ ।
कल्पनाले सबै मापदण्ड पूरा गरेर वाइल्ड कार्ड प्राप्त गरेर र सुस्मिताको लागि पनि पहल भइरहेको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बताए । उनले तीन दिनभित्रमा यसबारे सबै थाहा हुने पनि बताए ।
कल्पना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय ओलम्पिक कम्प्लेक्समा रहेको सुटिङ रेन्जमा दैनिक दुई पटक प्रशिक्षण गरिरहेकी छिन् । उनलाई असिम यादवले प्रशिक्षण गरेका छन् ।
‘खुशीको सीमा छैन’
कल्पनाले जतिखेर टोकियोको लागि वाइल्ड कार्ड पाएको अवसर सुनिन् उनी खुशी भइन् । ‘मेरो खुशीको सीमा नै थिएन । ओलम्पिकमा छनोट हुँदा धेरै नै खुशी छु । ओलम्पिकजस्तो खेल्न पाउनु खुशीको सीमा छैन’ कल्पनाले भनिन् ।
कल्पनाले ओलम्पिमा गएर अहिलेको भन्दा अझै राम्रो गर्ने बताइन् । ‘ओलम्पिकमा गएर आफ्नो स्तर सुधार गर्ने र अझै यो भन्दा राम्रो गर्ने लक्ष्य छ’ उनले भनिन्, ‘त्यहाँ गएर सक्दो गर्ने हो । यहाँ ट्रेनिङ गरेको भन्दा राम्रो गर्छु र गरेर पनि आउँछ ।’
कल्पनाले टोकियोमा त्यहाँ १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस्तै यो अवस्थामा पुग्न उनले मिहिनेत संगै विभिन्न क्षेत्रबाट साथ रहेको बताइन् । ‘कोचको पनि मिहिनेत छ । असिम यादव गुरुङ हुनुहुन्छ । उहाँले नहेरेको भए यस्तो हुँदैन थियो । आज यति स्कोरसम्म पुगेको छु । त्यति हान्न सकेको छु ।’
कल्पनाले परिवार साथ पनि ठूलो रहेको बताइन् । कल्पनाले यसअघि एसियन गेम्स, एसियन च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिसकेकी छिन् ।
अहिलेसम्म ओलम्पिकमा नेपालबाट ७ खेलाडीले खेलिसकेको तथ्याङ्क नेपाल ओलम्पिक कमिटीसंग छ । त्यसमा अब कल्पना आठौं खेलाडी बन्नेछिन् ।
पार्वतीले सन् १९८८ मा दक्षिण कोरियाको सिउलमा भएको २४ औं ओलम्पिकमा खेलेकी थिइन् । त्यसयता २०१६ को रियो ओलम्पिकबाहेक नेपालले सुटिङबाट ओलम्पिकमा निरन्तर सहभागिता जनाउँदै आएको छ ।







