ताप्लेजुङ ।सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गरेकोमा ताप्लेजुङ स्थित विभिन्न राजनीतिक दलका युवा संगठनहरुले आपत्ति जनाएकाछन् । सोमबार विभिन्न ६ वटा संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै ताप्लेजुङको पहिचान र यहाँका जनताको मौलिकता माथी हुने हस्तक्षेप स्वीकार गर्न नसकिने जनाएकाछन् ।
नेपाल तरुण दलका जिल्ला सभापति खगेनसिंह हाङ्गाम, वाईसिएल अध्यक्ष सुजन सामेखाम, युवा संघ नेपालका केन्द्रिय सदस्य ज्ञानु लावती, समाजवादी युवासंघ अध्यक्ष सुरेश अवाजुङ, लिम्बुवान भोलेन्टियरका संयोजक गणेश मावो र राष्ट्रिय युवा मोर्चाका अध्यक्ष आइत मावोद्धारा हस्ताक्षरित विज्ञप्तीमा सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने निर्णयलाई सच्याउन सरकार संग माग गरिएको छ ।
नाम परिवर्तनको विरोधमा जिल्लाबासीलाई एकताबद्ध हुन विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ । यदि नाम परिवर्तन गर्ने निर्णय नसच्चिए शसक्त प्रतिरोध गर्ने विज्ञप्तीमा उल्लेख छ ।








