९ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका तेल्लोकमा कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ । निधन हुनेमा सिरिजङ्घा गाउँपालिका–४ तेल्लोककी ८० वर्षीया वृद्धा रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड १९ फोकल पर्सन हेमराज कठायतले जानकारी दिनुभयो । उहाँको आइतबार विहान करिब ११ बजे निधन भएको समेत उहाँले जानकारी दिनुभयो ।
बृद्धालाई केही दिनअघिदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले आइतबार बिहान प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा एन्टिजेन परीक्षण गराउँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यता वृद्धाको शब व्यवस्थापन आफन्तले नै गर्नेगरी गाउँपालिकासँग समन्वय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । प्रजिअ पाण्डेका अनुसार मृतकको अन्त्यष्टिका लागि आफन्तलाई पीपीई उपलब्ध गराइएको र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने विषयमा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेसँग सम्पर्क भएको छ ।








