जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए । उनले भने, ‘हाम्रो लागि सबै दल फ्रेन्ड्ली नै हुन्, तर हामी प्रधानमन्त्री अ;ोलीको विरुद्धमा जाँदैनौँ ।’
वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु कुर्सीका लागि नभएर मधेशको माग पुरा गराउन दौडधुपमा लागेको बताए । आफूहरुको मुद्दालाई जसले सम्बोधन गर्छ त्यसलाई समर्थन गर्ने पनि बताए ।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्षधर सांसदको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री संविधान संशोधनका लागि तयार भएको दावी गरे । मन्त्रीपरिषद्बाट संविधान संशोधनका अध्ययन गर्न सुझाव समूह गठन गर्ने निर्णय भएको बताउँदै उनले संविधान संशोधनको नाम सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि तयार भएको उनले बताए ।
त्यस्तै, नागरिकताको समस्या पनि समाधान गर्न मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेको बताउँदै उनले मधेशी आन्दोलनकारी माथि लागेको थुप्रै मुद्दाहरु फिर्ता भएको र अरु हुने क्रममा रहेको जानकारी गराए । अध्ययन समूहले अध्ययन गरेर संसदमा प्रस्ताव लैजाने र त्यसलाई त्यहाँ छलफल गरेर टुगों लगाउने बताउँदै उनले अध्ययन समूहले तयार पारेको प्रतिवेदनको आधारमा सरकारले संविधान संशोधन गर्ने उनले बताए ।
मन्त्रीपरिषद्बाट गठन गरिएको अध्ययन समूहमा जसपा नेपालको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् एमालेको तर्फबाट अग्नि खरेल, विष्णु पौडेललगायत तीनजना रहेको नेता महतोले बताए ।Ratopati







