ताप्लेजुङ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले ताप्लेजुङका नागरिक थलिएका छन् । पहिलो लहरमा केही सुरक्षित जिल्ला भए पनि दोस्रो पटकको आएको कोरोनाको ‘भेरियन्ट’ले धेरै नागरिक संक्रमित छन्, आधादर्जन बढीले त ज्यान समेत गुमाए ।

अहिले पनि सैयौँ संक्रमित होमआईसोलेसनमा छन् । केहीको उपचार जिल्ला र जिल्ला बाहिरका ठुला अस्पतालमा भइरहेको छ । सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण भएपछिको पीडा संक्रमित र उनिहरुका परीवारले भोगिरहेका छन् ।

जिल्लालाई कोरोना मुक्त गर्न र संक्रमितको उपचारमा सहजता कसरी ल्याउन सकिन्छ ? देश विदेशका शुभचिन्तक चिन्तत छन् र लागिरहेका पनि छन् । निषेधाज्ञाकै समयमा पनि पूर्वमन्त्री योगेश भट्टराईले सरोकारवालाको अन्तरक्रिया राखेर जिल्लामा आवस्यक स्वास्थ्य सामग्री पठाए र अझै जुटाउने प्रयासमा छन् । भगवनका स्वरुप उभिएका स्वास्थ्यकर्मीलाई उपचारमा केही खाँचो नहोस भन्ने सबैको चाहना पनि छ ।

यो समय महामारी नियन्त्रणका लागि युद्ध मैदानमा सबैभन्दा बढी स्वास्थ्यकर्मी होमिनु परेको छ । आफ्नो परीवार र स्वास्थ्य पनि नभनि दिन रात खट्ने उनिहरुलाई हामिले सम्मान गर्नैपर्छ । प्रत्यक्ष भेटिने भगवान भनेकै स्वास्थ्यकर्मी र मन्दिर भनेकै अस्पताल हो, यसमा दुईमत छँदै छैन । उनिहरुले बिरामीलाई ‘नआतिनुस्, ठिक हुन्छ, हामी छौँ नि’ भन्दा पनि विरामीको आधा रोग निको हुन्छ भनिन्छ । त्यसैले अस्पतालका कर्मचारीसहित स्वास्थ्यकर्मीले कस्तो व्यवहार गर्ने, बोल्ने, लेख्ने अर्थात आफुलाई प्रस्तुत गर्ने धेरै पटक सोच्नुपर्छ ।

तर, विहीबार जिल्ला अस्पताल ताप्लेजुङको आधिकारिक फेसवुक पेजमा आएको एउटा ‘स्टाटस’ले जिल्लाबासिलाई अस्पताल र स्वास्थ्यकर्मीको विषयमा सोच्न बाध्य बनायो । त्यति मात्रै हैन कोरोना महामारीसँग जुधिरहेका संक्रमितको मनोबल गिरायो पनि ।

त्यो स्टाटसमा लेखिएको थियो ‘ताप्लेजुङेलाई लागिरा होला हामीलाई भाइरसले ठग्यो, १४ दिन, १७ दिन आइसोलेसन मा बस्दा पनि पिसिआर पोजिटिभ आयो । गर्यो हैन त फलो अप पिसिआर ?? बनायो हैन त पंगु ।। हामीले भन्या सुन्यौं त ?? अब बस अझै १४ दिन आइसोलेसनमा ।। आखिर सब एक से एक विज्ञ हौँ के रे ।’

हामीले समाचार सँगै यसको ‘स्कृनसट’ पनि राखेका छौँ । हेर्न सक्नुहुन्छ ।

कोरोना संक्रमित पुष्टि भएको १४ दिन सम्म आइसोलेसनमा बसेपछि पुनः पीसीआर परीक्षण नगर्दा पनि हुन्छ भन्ने स्वास्थ्य प्रोटोकल नेपालमा पनि बनेको छ । पीसीआर परीक्षणमा स्वाबको भिड हुन्छ र परीक्षणमा ढिलाई हुने भएकाले र कोरोनाको असर १४ दिनमा न्यून हुँदै जान्छ भनेर त्यो नियम सायद बनाएको हुन सक्छ । वास्तविक कुरा स्वास्थ्य विज्ञलाई थाहा होला । तर, यो नियम त अहिलेको नयाँ ‘भेरियन्ट’को लागि त होइन होला । अघिल्लो पटक फैलिएको कोरोनाको असर र अहिलेको असर एउटै त अवस्य छैन । यो विषय पनि सोचनियनै छ । तर, अस्पतालले नागरिकलाई यसरी सामाजिक सञ्जालमा धारणा राखेर बुझाउने र भन्ने तरिका त हुँदै भएन नि । यसमा अस्पताल प्रशासनले क्षमा माग्नै पर्छ, लेख्ने र बोल्नेले सुध्रनै पर्छ । प्रशासनको ध्यान जानु पर्छ ।

हट्यो ‘स्टाटस’
अस्पतालको फेसवुक पेजमा लेखेको कुरा क्रमश विवादित बनेपछि अहिले यो स्टाटस हटाइएको छ । अहिले फेसवुकमा भेटिदैन । तर, यस्ता कुरा हटाउँदैनमा संक्रमित र जिल्लाबासीको मनमा पसेको चिसो र अस्पतालसहित स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण त मेटिएननी ।

हो अहिलेको महामारीमा तपाईहरुनै भगवान हो, संक्रमित हात जोड्दै जीवनको भिख माग्न तपाईहरुकै अघि आउँछन् । तर, यसो भन्दैमा जे बोल्न र लेख्न त मिलेन नि हजुर ।

यो महामारीको समय हो, बाँच्ने र बचाउने बाहेक अन्य सोच्ने समय होइन । सबैको प्रयासबाट मात्रै नियन्त्रण हुन सक्छ । त्यसैले सबै आ–आफ्नो स्थानमा जिम्मेवार बनेर लागौँ ।

जिल्ला अस्पताल ताप्लेजुङले माग्यो माफी

ताप्लेजुङवासीमा क्षमायाचनाको लागि अनुरोध ।।
हिजो मिति २०७८/०२/०६ गते यस अस्पतालको पेजबाट पोस्ट भएको पिसिआर टेस्ट सम्बन्धि पोस्टले ताप्लेजुङवासी को जनभावनामा ठेस पर्न गएको हामीले महशुस गरि सो कार्यको लागि ताप्लेजुङवासीसमक्ष क्षमा माग्न चाहन्छौं ।। भूलवस व्यक्तिगत पेजमा पोस्ट गर्न खोजिएको कुरा अस्पतालको पेजमा पोस्ट भएको हुँदा तत्कालै डिलिट समेत गरिए पनि यहाँहरुको जनभावनामा कुनै ठेस परेको भए सो कुराको पुर्ण जिम्मेवारी लिदैँ अस्पताल परिवार सबैसँग क्षमायाचना गर्दछ ।। अब उप्रान्त यस्तो गलती कुनै एडमिन वा अस्पताल प्रशासन बाट हुन गएमा कारवाहीको भागीदार पनि हुन तयार छौँ ।। धन्यवाद ।।

Lite Nepal

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!