३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको छ । आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको थियो ।
संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा नगएका हुन् ।
मंगलबारको बैठकमा सभामुख सापकोटा नजाने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि गएनन् । दुई सदस्यको अनुपस्थितिका कारण कोरम नपुगेर बैठक बस्न सकेन ।
आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका सापकोटाले मंगलबार भने अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने जानकारी प्रधानमन्त्रीलाई गराएको स्रोतले अनलाइनबरलाई बतायो ।
‘परिषदका अध्यक्ष (प्रधानमन्त्री) र सदस्यहरुवीच समन्वयनको अभाव देखियो, बैठकका लागि पर्याप्त गृहकार्य पनि भएन’ सभामुखको सचिवालय स्रोतले भन्यो, ‘बैठकका लागि पूर्वतयारी पनि पर्याप्त देखिएन । यिनै तीन कारणले सभामुखज्यू आजको बैठकमा अनुपस्थित हुनुभएको हो ।
परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि अध्यक्षले त्यसो नगरी बैठक डाकेको स्रोतले बतायो ।
अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि  बस्न सकेको छैन ।
नियुक्तिहरुका लागि विपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्रीले परामर्श गरे पनि आफ्नै दलका नेताहरुसँग परामर्श नगरेको भन्दै नेकपाभित्रै असन्तुष्टि चुलिएको छ । त्यसैको प्रभाव सभामुखमाथि पनि परेको स्रोत बताउँछ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुने संविधानले परिकल्पना गरेको छ । परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् ।
परिषदको बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्रीबाहेक ४ जना सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले ४ जना सदस्यमात्र रहेकाले कोही एकजना उपस्थित नहुँदा पनि बैठक बस्न सक्दैन ।
त्यसो त विगतमा सभामुख र उपसभामुख दुबै नेकपाकै हुँदा र आफ्नै बहुमत पुग्दा पनि प्रधानमन्त्री ओलीले लामो समयसम्म परिषदलाई क्रियाशील गराउन सकेनन् । अहिले सत्तापक्षले उपसभामुख बनाउन नपाउने भएकाले उपसभामुख पद खाली राख्दा त्यसको असर परिषदका परेको छ ।
यसैवीच, मंगलबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेता गगन थापाले उपसभामुखको चयन नहुँदासम्म परिषदको बैठकमा सहभागी नहुन कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।यो खबर अनलाइन खबरमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय