ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले गाउँपालिकाका पाँचवटै वडामा बर्थिङ सेन्टर स्थापना गरी प्रसूति सेवा सञ्चालनमा ल्याएको छ। गाउँमै सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत वडा नं. ५ स्थित दोभान सामुदायिक स्वास्थ्य इकाइमा समेत बर्थिङ सेन्टर स्थापना गरी सेवा सुरु गरिएको हो।
दोभान सामुदायिक स्वास्थ्य इकाइबाट पहिलोपटक प्रसूति सेवा लिँदै नवजात शिशुको जन्म भएको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) का अनुसार पाँचवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै स्थानीय महिलाले प्रसूतिका लागि टाढा जानुपर्ने बाध्यता कम भएको छ।
अध्यक्ष पोमुले गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउनु स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई गाउँपालिकाले प्राथमिकतामा राखेको उल्लेख गरे।
दोभान सामुदायिक स्वास्थ्य इकाइबाट पहिलोपटक प्रसूति सेवा लिई शिशु जन्मिएको अवसरमा आमा र नवजात शिशुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। साथै आमाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
पाँचवटै वडामा बर्थिङ सेन्टर स्थापना गरी सेवा सञ्चालनमा ल्याउन सहयोग गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति गाउँपालिकाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
स्थानीय सरकारको पहलमा गाउँमै सुरक्षित प्रसूति सेवा विस्तार हुनु ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।







