ताप्लेजुङको समग्र विकास, जनताका दीर्घकालीन समस्या तथा विशेषगरी मेची राजमार्गको मापदण्डका कारण प्रभावित घर–जग्गाधनीहरूको समस्या समाधानका विषयमा लक्ष्मी भट्टराई लगायत प्रभावित पक्षले जिल्लाका तीनै जना माननीयज्यूहरूसँग छुट्टाछुट्टै भेटघाट गरी महत्वपूर्ण छलफल गरेका छन्।
भेटघाटका क्रममा ताप्लेजुङको विकासका प्राथमिक आवश्यकता, सडक पूर्वाधार, बजार तथा बस्ती क्षेत्रको संरक्षण, सहज यातायात, पर्यटन तथा कृषि क्षेत्रको विकासलगायतका विषयमा गम्भीर विचार–विमर्श भएको थियो।
विशेषगरी विगत १४ वर्षदेखि मेची राजमार्गको मापदण्डका कारण घर–जग्गा रोक्का हुँदा प्रभावित बनेका ताप्लेजुङवासीको समस्या समाधानका लागि सरकारले स्पष्ट, व्यवहारिक र दीर्घकालीन मापदण्ड निर्धारण गरी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर रोक्का रहेका घर–जग्गा फुकुवा गर्नुपर्ने विषयमा छलफल भएको हो।
लक्ष्मी भट्टराई लगायत मेची राजमार्गको मापदण्डबाट प्रभावित स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको समस्या समाधानका लागि सम्बन्धित निकायमार्फत प्रभावकारी पहल गर्न माननीयज्यूहरूसँग आग्रह गरेका छन्।
ताप्लेजुङको हित र जनताको समस्यालाई प्राथमिकतामा राख्दै सरकार तथा सम्बन्धित निकायसँग आवश्यक पहल, सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयमा तीनै जना माननीयज्यूहरूबाट सकारात्मक धारणा प्राप्त भएको बताइएको छ।
वर्षौंदेखि रोक्का रहेको घर–जग्गाको समस्या समाधान, सडक पूर्वाधारको व्यवस्थित विकास तथा जिल्लाको समग्र हितका विषयमा भएको छलफललाई प्रभावित पक्षले सकारात्मक र आशावादी रूपमा लिएका छन्।







