५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न आह्वान गरेका छन् ।
आज बुधबार अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।
पार्टीभित्र देखा परेका समस्याको समाधान गर्न कार्यदल बनेको उल्लेख गर्दै ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु कल्पना बारिहको विषय भएको बताएका छन् ।
‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ ,’ ओलीले आज जारी गरेको अपीलमा भनेका छन्, ‘उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुयाउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’
बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका छन् ।









