२ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा निषेधाज्ञाको अवधि थप गरिएको छ । जेठ ३ गतेदेखि १० गते सम्म एक हप्ता निषेधाज्ञा थप गरिएको हो । यस अघि दोश्रो पटक थप भएको अवधि सकिनै लाग्दा आज थप अवधि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुई हप्तादेखि जारी निषेधाज्ञाको अवधि दोश्रो पटक थपेर जेठ ३ गते सम्म लागु गर्ने यस अघि निर्णय भएको थियो । दिनानुदिन संक्रमण तिव्ररुपमा फैलिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्बा, सिस्ने, फक्ताङलुङ गाउँपालिका ३ लिङ्खीम वारी फुरुम्बु क्षेत्र, सिकैचा वारी फावाखोला, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामी डाँडा, काबेली खोला र मेरिङदेन गाउँपालिका भित्र समेत निषेधाज्ञा लागु हुने बताईएको छ । संक्रमणबाट आफु बच्न र अरुलाई बचाउँन निषेधाज्ञालाई पुर्णरुपले पालना गर्न प्रशासनले अनुरोध समेत गरेको छ । अति आवस्यक बाहेकका काममा बाहिर हिडडुल नगर्न सर्वसाधरण सबैलाई अनुरोध गरिएको हो ।







