एजेन्सी
भन्नेहरू भन्छन्– संसार अनेक विचित्रले भरिएको छ । कतिपय कुरा सुन्दा साँच्चै यस्तै लाग्छ । पत्याउनै नसकिने कतिपय कुरा साँच्चैका तर विचित्रका हुन्छन् ।
आज यस्तै एक विचित्र वस्तुको बारेमा यहाँ चर्चा गरिँदैछ । एउटा यस्तो रुखको बारेमा हामी चर्चा गर्दैछौं, जसले ठ्याक्कै मानिसकै जस्तो व्यवहार देखाउँछ ।
यो खबर कहिंको नभएर हाम्रै छिमेकी देश भारतको हो । त्यहाँको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा एउटा यस्तो रुखको प्रजाति छ, जसलाई मान्छेलाई जस्तै काउकुती लाग्छ ।
झट्ट सुन्यो एकदमै हावादारी कुरा लाग्न सक्छ । तर, यो साँचो हो । खबरअनुसार यो रुखको फेदमा औंला रगड्दा उसका हाँगाबिँगा आफैं हल्लिन थाल्छन् । जसरी मान्छेको पेटमा छुँदा काउकुती लागेर जीउ हल्लिन्छ । वा मानिस हल्लिन्छ ।
यस्तो अचम्मको हर्कत देखाउने उक्त रुख देख्ने र छुने मानिसले सो रुखलाई ‘हाँस्ने रुख’ भनेर नाम दिएका छन् ।
यस्तो अचम्मको रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम हो । यतिबेला यो रुखलाई छुँदा किन काउकुती लागेझैं हर्कत गर्छ भन्ने विषयमा वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।
खबरअनुसार यस्तो अचम्मको हाँस्ने रुख हेर्नका लागि अहिले थुप्रै मान्छे त्यहाँ पुग्ने गरेका छन् । यही रुखका कारण सो क्षेत्र अहिले पर्यटकीय केन्द्र बनेको छ ।







