
विराटनगर : बलात्कार जस्तो जघन्य अपराधको घटना पीडितलाई पाँच लाख रुपैयाँ दिएर पीडकलाई उन्मुक्ति लिएको घटना बाहिरिएको छ ।
मोरङको धनपालथानमा पीडकका आफन्त एवं सामाजिक अगुवाको सलग्नतामा बलात्कार जस्तो जघन्य अपराधको घटना गाउँमै मिलाउन पीडितलाई पाँच लाख रुपैयाँ दिएको घटना बाहिरिएको हो ।
घटना बाहिरिएसँगै पीडक र मिलापत्र गराउन संलग्नलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। बलात्कारपछि अपराधको घटना मिलाउन छलफलमा बसेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले बलात्कारको घटना मिलापत्र गराएको आरोपमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षे धनेशु खवास, ५३ वर्षे सुधार सिंह खवास, ६२ वर्षे मागन खवास, ६२ वर्षे कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षे जगतनारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षे मथालु खवासलाई पक्राउ गरेको छ ।
गएको भदौ २४ गते सुनवर्षीकी २१ वर्षे किशोरीलाई खेतमा मल छर्दै गर्दा बेलबारी नगरपालिका ८ का ३२ वर्षे सुरेशकुमार खवासले जबरजस्ती करणी गरेको घटना बाहिरिएपछि जबरजस्ती मिलापत्र गराइएको थियो ।
गाउँघरमै दुवै पक्षका मानिसहरू बसेर पीडित पक्षलाई ५ लाख दिने सहमति गरेको कागज प्रहरीले फेला पारेपछि मिलापत्र गराउने कार्यमा उनीहरु संलग्न देखिएपछि ६ जना पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
जबरजस्तीकरणी गरेको आरोपमा मुख्य अभियुक्त सुरेशकुमार खवास यसअघि नै पक्राउ परिसकेका छन् । पीडित किशोरी खवासले जवरजस्ती करणी गरेको घटना भएको एकमहिना पछि प्रहरीमा उजुरी दिइएकी थिइन् । महिलाको उजुरीपछि पीडक खवास फरार भएका थिए। प्रहरीले खवासलाई मंसिर १९ गते रंगेली नगरपालिका ७ बाट पक्राउ गरेको थियो ।
थप अनुसन्धानका क्रममा घटना मिलापत्र गराएको खुलेको थियो। त्यसको कागजसमेत भेटिएपछि प्रहरीले मिलापत्र गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
मिलापत्र गराउने कार्यमा अरू केही व्यक्तिहरुको पनि संलग्नता देखिएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।