
भारतमा राजस्थानको एक कोभिड उपचार केन्द्रमा पिपिई किट लगाएर विवाह सम्पन्न भएको छ । विवाहको दिनमै दुलहीमा कोभिडको सङ्क्रमण पुष्टि भएको कारण दुलहा दुलही, उनका परिवार तथा पण्डितले पिपिई किट लगाएर वैवाहिक प्रक्रिया पूरा गरेका हुन् ।
दुलहीको परिवारका केही सदस्यले २ दिनअघि कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । तर, विवाहकै दिन दुलही र उनकी आमामा कोरोना पुष्टि भएको हो ।
त्यसपछि, स्थानीय कोभिड उपचार केन्द्रमै मण्डप बनाएर विवाह सम्पन्न गरिने निर्णय भयो । विवाहमा उपस्थित सबैले पिपिई किट लगाएका थिए ।
अन्य आफन्त सहभागी नहुने भएपछि विवाहमा कोभिड उपचार केन्द्रका डाक्टर र कर्मचारी सहभागी भएका थिए । विवाह समारोहमा कोभिड–१९ का सबै प्रोटोकोल पूरा गरी सुरक्षित ढङ्गले विवाह गरिएको थियो ।
हाल उक्त विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सार्वजनिक तस्बिर तथा भिडियोमा दुलहीले मास्क, फेस शिल्ड तथा पञ्जा लगाएको देख्न सकिन्छ ।