
नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गर्न लागिएको हो ।
केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको हो । देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिनुभयो । महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरुसम्म बनेको छ । अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ ।
महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् । महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् । प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारका रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकी मैदानमा हुनुहुन्छ ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह मैदानमा हुनुहुन्छ । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दै हुनुहुन्छ । नयाँ संरचनाअनुसार सात प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुँदा त्यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ भने बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएट र प्रतिष्ठानहरुको अर्को अलग्गै प्रदेशस्तरको मतदान हुनेछ । विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको छ भने मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको संयोजक काफ्ले जानकारी दिनुभयो ।
यसै विच ताप्लेजुङ पनि पाँच पदका लागि मतदान हुदैछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य र केन्द्रिय परिषद सदस्यका लागि मतदान हुन लागेको निर्वाचन समिति संयोजक मनमणि काफ्लेले जानकारी दिनुभयो । यस अघि ११ पदमा निर्विरोध निर्वाचित भइसकेकाछन् । जसमा उपाध्यक्ष कमल प्रसाद भट्टराई, महिला उपाध्यक्ष गंगा लिङखिम, सह–सचिवद्वय बसन्त पालुङवा र संगिता कार्की, महिला सदस्य, छिरिङ डोमा शेर्पा, दलित सदस्य जिवन कालिकोटे, आदिवासी जनजाति सदस्य सुर्य प्रसाद लिम्बु, अन्य समावेसी सदस्य सुर्य गुरुङ, महिला केन्द्रिय परिषद सदस्य सीता निरौला, प्रदेश परिषद सदस्य सजन पौडेल र अम्बिका हाङवाङ, प्रदेश परिषद सदस्य महिला तर्फ अमृता थलङ र समावेशी तर्फ सन्तोष कुमार सार्र्की रहेका छन् ।