
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकार गठनमा एमालेले जे निर्णय गर्छ त्यही मान्य हुने बताएका छन् ।
कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘सरकार गठनमा एमालेले जे निर्णय गर्छ, हामी त्यही मान्छौँ । हामीलाई माओवादी केन्द्रसँग जोडेर नहेर्नुस् ।’
काँग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय गर्ने भन्दै आफूहरु पार्टी एकता जोगाउने पक्षमा रहेको बताए । ‘नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले सरकारबारे आ–आफ्ना निर्णय गर्लान्, हामी आफ्नो पार्टी एकता जोगाउने विषयमा केन्द्रित छौं,’ उनले भने ।
आफूहरुको बैठक सरकारका विषयमा नभइ पार्टीमा देखिएको समस्याको प्रतिरोधमा केन्द्रित रहेको पन्तको भनाइ छ । ‘हाम्रो बैठक सरकारका विषयमा नभएर पार्टीमा देखिएका समस्या र त्यसको प्रतिरोधबारे केन्द्रित छ ।’ नेपाल खनाल पक्षीय स्थायी कमिटी बैठकले निर्वाचित कमिटी भएका ठाउँमा त्यसलाई सक्रिय बनाउने र अध्यक्ष केपी ओलीले अवैध रुपमा कमिटी निर्माण गरेका ठाउँमा आफ्नै कमिटी बनाउन निर्देशन दिएको छ ।
अध्यक्ष पक्षीय कमिटीबाट हुने गतिविधिको प्रतिरोध गरेर अघि बढ्ने बैठकले निर्णय लिएको उनले बताए । ‘हामी पार्टी एकता र सुदृढीकरणको पक्षमा छौं । पार्टीलाई विभाजनतर्फ लैजाने काम ओलीले नै गरिरहनु भएको छ ।’
यतिबेला एमाले अध्यक्ष केपी ओली र नेता खनाल–नेपाल गरी दुई भागमा विभाजित छ । औपचारिक रुपमा विभाजन नभएपनि पार्टी केन्द्रीय कमिटी बाहेक प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा समानान्तर कमिटी निर्माणमा दुई पक्षबीच प्रतिस्पर्धा छ ।